रोहितको ब्याटिङमा युएईविरुद्ध नेपालको जित

लोकप्रिय

काठमाडौँ, कात्तिक १ गते । 

कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय टी-२० खेल खेलिएको मूलपानी क्रिकेट मैदान (माथिल्लो)मा नेपालका कप्तान रोहितले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्नुभएको थियो । नेपालका बलरहरूले युएई लाई निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४० रनमा रोकेर कप्तानको निर्णयलाई सही साबित पनि गर्नुभयो । नेपालले छ बल बाँकी छँदा तीन विकेटका क्षतिमा १४४ रन बनाएर लक्ष्य हासिल गर्‍यो ।

रोहित र दिपेन्द्रको अविजित साझेदारी

रोहितले विजयी चौका प्रहार गरी आफ्नो अर्धशतक पनि पूरा गर्नुभयो । रोहितले ४० बलमा पाँच चौकासहित ५१ रन बनाउनुभयो । रोहितले १२ रनमा छँदा जीवनदान पाउनुभएको थियो । रोहित म्यान अफ दि म्यान पनि बन्नुभयो । दीपेन्द्रसिंह ऐरी पनि २३ बलमा ३४ रन बनाएर आउट हुनुभएन । दीपेन्द्रको पालिमा तीन चौका र एक छक्का सामेल थियो ।

यी दुईले चौथो विकेटका लागि ९३ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव भएको हो । यी दुईको साझेदारी बन्नुअघि नेपालले नवौँ ओभरमा ५१ रन बन्दा तीन विकेट गुमाइसकेको थियो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल १४ बलमा एक चौकासहित १४ रन बनाएपछि स्पिनर निलान्स केसवानीको बलिङमा क्याच आउट हुनुभयो । वन डाउन ब्याट्सम्यान कुशल मल्ल (९ बलमा ११ रन)का रूपमा नेपालको दोस्रो विकेट निस्कियो । आसिफ शेखसँग रन लिने क्रममा तालमेल नमिलेपछि कुशल रन आउट हुनुभएको थियो । कुशल आउट भएको दुई ओभरपछि आसिफ पनि अलि नसिरको स्लो बललाई ठम्याउन नसक्दा युएईका कप्तान मोहम्मद वासिमद्वारा क्याच आउट हुनुभयो । आसिफले २७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २३ रन बनाउनुभयो ।

नेपालको तेज बलिङमा युएईको पालि कमजोर

यसअघि तेज बलर करण केसीको शानदार बलिङले युएई ठुलो स्कोर बनाउनबाट वञ्चित भएको हो । युएईका लागि बासिल हामिदले ३८ बलमा सबैभन्दा बढी ५१ रन बनाउनुभयो । उहाँको पालिमा चार छक्का र एक चौका सामेल थियो । बासिलले नासिरसँग पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरी युएईको पालिको उद्धार गर्नुभएको हो । नसिरले ३० बलमा तीन चौका र एक छक्कासहित ३२ रन बनाउनुभयो ।

नेपालले खेलको पहिलो ओभरमा नै सफलता पाएको थियो । प्रारम्भिक बलर सोमपाल कामीले खालिद शाहलाई शून्यमा आउट गरेर पहिलो सफलता दिलाउनुभएको थियो । त्यसपछि करण र गुलसन झाले युएई को मध्यक्रमलाई कमजोर बनाउनुभयो । करणले चार ओभरमा मात्र १९ रन खर्चेर तीन ब्याट्सम्यानलाई आउट गर्नुभयो । गुलसनले तीन ओभरमा ११ रन दिएर दुई विकेट लिनुभयो । आज महँगो साबित भएका अर्का तेज बलर अविनाश बोहाेराले अन्तिम ओभरमा विकेट लिएर विकेटकर्ताको सूचीमा आफ्नो नाम लेखाउनुभयो ।

स्पीनर मौसमको पदार्पण

युएईको पालिमा नेपालका तीनै स्पिनरले विकेट लिन सकेनन् । नेपालका लागि आज स्पिनर मौसम ढकालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेले पनि खेल्नुभयो तर उहाँको पदार्पण ठिकठाक मात्र बन्यो । स्पिनर मौसम ढकालले दुई ओभरमा १३ रन खर्चेर विकेटविहीन बन्नुभयो ।

‘बलिङले खेल जित्यौँ’

युएईका कप्तान वासिमले लक्ष्य जोगाउने क्रममा सुरुको दस ओभर राम्रो बलिङ गरेपनि रोहित र दीपेन्द्रको ब्याटिङले खेल युएईबाट पर पुर्‍याएको प्रतिक्रिया दिनुभयो । यसैगरी नेपालका कप्तान रोहितले नेपालले बलिङ राम्रो गर्दा खेल जित्न सकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ब्याटिङ अझ राम्रो हुनसक्थ्यो तर जितमा खुसी छु ।’’

ताजा समाचार

Related Articles