नेता कार्यकर्तालाई अनुशासित हुन निर्देशन

लोकप्रिय

काठमाडौँ, कात्तिक १ गते ।

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिनुभएको छ । पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने चाहना राख्ने प्रवृत्तिले अराजकता फैलिइरहेको उहाँको भनाइ छ । 

अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्ताले अनुशासन पालना गरेर अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीनिकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले बुधबार काठमाडौँमा दसैँ–तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

पार्टीभित्र आफूलाई केही देखाउन अनुशासनहीनताको सहारा लिने, उच्छृङ्खलताको सहारा लिने प्रवृत्ति बढिरहेको चर्चा गर्दै त्यसलाई नियन्त्रण गरेर अघि बढ्ने बताउनुभयो । अध्यक्ष ओलीले देशमा, समाजमा अराजकता फैलिएकाले त्यसलाई नियन्त्रण गर्न र अनुशासनको पाठ सिकाउने काममा भूतपूर्व सैनिक तथा प्रहरीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समस्याहरू छन् हामीसँग । देशमा समस्या छ । ती समस्याको समाधान हामी गर्दै जानेछौँ । तर हामी जिन्दगीलाई खुसीयालीपूर्ण, उत्साहपूर्ण, उमङ्गका साथ मनाउँदै, अगाडि बढाउँदै अघि जानेछौंं ।’ देशको समस्या समाधान गर्न एमाले पार्टी रहेको उहाँले चर्चा गर्नुभयो । 

आज सिङ्गो एमाले आफ्ना अवयवसहित सक्रिय रहेको उहाँले बताउनुभयो । ‘जस्तो हाम्रो शरीरमा अवयवहरू सक्रिय हुन्छन् । त्यस्तै एमाले पनि सम्पूर्ण रूपले सक्रिय छ । सिङ्गो शरीर पनि गतिशील छ । एमाले पनि त्यसैगरी गतिशील छ” उहाँले भन्नुभयो, “अहिले समाजमा एउटा अराजकता बढेको छ । असहिष्णुता बढेको छ । त्यसले समाजलाई परस्परमा घृणा फैलाउने कामहरू भइराखेको छ । त्यसले एकातिर राष्ट्रिय एकतालाई कमजोर बनाउने काम भइराखेको छ ।”

अनुशासन, विधि र प्रक्रियाको सहयोगले मात्र समाज सभ्य हुने उहाँले बताउनुभयो । प्रकृति पनि अनुशासनमा चलेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “प्रकृतिमा एक किसिमको अनुशासन छ । प्रकृति बिलकुल अनुशासनमा बसेको छ । हामी कसैकसैलाई सदस्यता लिएको भोलिपल्ट माथिल्लो पदमा पुगुँजस्तो लाग्ने रहेछ, जुन गलत छ ।” बिरुवा रोपेको भोलिपल्टै रुख नहुने बताउँदै अध्यक्ष ओलीले त्यसले प्रकृतिको नियम पालना गर्दै रुख हुनेगरेको बताउनुभयो । हतार गर्दैमा रुखले फल नदिने उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले मुलुकमा समस्याहरू रहेकाले त्यसको समाधानका लागि एमाले क्रियाशील भइरहेको बताउनुभयो । एमालेले मुलुकको समस्या समाधानका लागि सिङ्गो शक्तिलाई परिचालन गरिरहेको उहाँको भनाइ छ । 

ताजा समाचार

Related Articles