वनस्खण्डी र भुटनदेवीमा फूलपाती भित्र्याइयो

लोकप्रिय

हेटौँडा, कात्तिक ४ गते ।
विजया दशमीको सातौँ दिन शनिबार मकवानपुर जिल्लामा रहेको देवीका मन्दिरहरुमा दर्शनार्थ तथा पूजाआजाका लागि भक्तजनको विशेष भिड लागेको थियो ।
जिल्लाका देवीका मन्दिरहरुमा भक्तजन फूलपातीको दिन सबेरैदेखि पूजा सामग्रीसहित पुगेर पूजाआजा र साधनामा व्यस्त देखिन्थे ।
यसक्षेत्रकै शक्ति पीठ भुटनदेवी मन्दिरसँगै हेटौँडाका चुरियामाई, दक्षिणकाली, वनस्खण्डी, पाथीभरा, त्रिवेणीधामस्थित देवीको मन्दिर, मकवानपुरगढी गाउँपालिकास्थित मनकामना, थाहा नगरमा रहेका बज्रबाराहीलगायतका मन्दिरमा दर्शन एवं भक्तजनले श्रद्धापूर्वक पूजाआजा गरेका छन् ।
फूलपाती भित्र्याउने र बिदाकोसमेत दिन भएकोले नवरात्र सुरु भएयताका दिनमध्ये फूलपातीको दिन भक्तजनको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।
बढी भिडका कारण मन्दिर व्यवस्थापन समितिले लामबद्ध बनाएर भक्तजनहरुको सुविधाको लागि पूजाआजाको व्यवस्था मिलाएका थिऐ ।
उता देवीका मन्दिरमा कतिपय भक्तजनहरुले कुखुरा, हाँस, बोकालगायतका पशुपंक्षीको बली चढाउन र सवारी साधनको पूजाआजा गर्न व्यस्त देखिन्थे । पशुपंक्षीको बली नचढाउनेहरुले नरिवलको बली दिएका थिए ।
साथै नगरका विभिन्न टोलमा दुर्गा पूजा समितिले अस्थायी पूजा स्थल निर्माण गरी देवीलगायतका भगवानको पूजाआजा गरिएको छ । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिर र हेटौँडा १० स्थित शक्ति पीठ भुटनदेवी मन्दिरमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ ।
हेटौँडा १० को गोरक्षेश्वर मन्दिरस्थित राप्तितटबाट झाँकीसहित बजार परिक्रमम गरी भुटनदेवी मन्दिरमा विहान र वनस्खण्डी मन्दिरमा दिउँसो फुलपाती भित्र्याइएको हो ।
यहाँका देवीका मन्दिरमा नवरात्र सुरु भएदेखि नवमीसम्म बली दिने र आफ्ना सवारी साधनको पूजाआजा गर्ने गरिन्छ ।
साथै घरघरमा हिन्दु परम्पराअनुसार फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।

ताजा समाचार

Related Articles