मकवानपुर, असार २६ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले यातायात क्षेत्रलाई अनुशासित र मर्यादित बनाउनु आवश्यक भएको बताउनुभएको छ । नारायणी यातायात व्यवसायी सङ्घको ३७ औँ साधारणसभा तथा १६ औँ अधिवेशनको शुक्रबार हेटौँडा उद्घाटन गर्दै उहाँले यातायात चालक, सहचालक मजदुरको हितमा सरकारले सहयोग र सहजीकरण गर्न तयार रहेको बताउनुभएकाे हाे । उहाँले यातायात क्षेत्र प्रदेशको एकल अधिकार क्षेत्र भएको भन्दै सरकारले व्यवसायीबाट कर लिन्छ भने व्यवसायीलाई सेवा पनि दिनुपर्छ, सहजीकरण पनि गर्नुपर्छ यो राज्यको मूल धर्म भएको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले व्यवसायीका जायज मागहरुप्रति सरकार सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने भन्दै जेनजी आन्दोलनका क्रममा क्षति भएका सवारी साधनहरुमा लाग्ने कर, राजस्वमा जरिवाना नलाग्ने गरी प्रदेश सरकारले छुटको व्यवस्था गर्ने निर्णय गरी कार्यान्वयन गरिएको बताउनुभयो । यस्तै, उहाँले भारतीय गाडीको चाप बढेको र यसबाट व्यवसायीहरु अहिले मर्कामा रहेको भन्दै यसका लागि समस्या समाधानमा प्रदेश र सङ्घीय सरकारले सहजीकरण गर्नुपर्ने बताउनुभयो । व्यवसायीमैत्री नियम कानुन बनाएर प्रदेश सरकारले काम गर्ने भन्दै उहाँले भन्नुभयो, व्यवसायीलाई समस्या पर्दा जरिवाना छुट दिने र पत्रु गाडीको जरिवाना छुट दिने गरी प्रदेश सरकारले निर्णय गरिसकेको छ । सवारी चालकले मादक पदार्थ र लागूऔषध सेवन गरेर सवारी चलाउँदा आफ्नो मात्र होइन अरुको समेत ज्यान जोखिममा पर्ने भन्दै यसमा कडाईसँगै कारबाही आवश्यक भएको उहाँको भनाइ छ।

प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले यातायात क्षेत्र प्रत्यक्ष सेवा दिने क्षेत्र भएपनि निरन्तर सेवा दिँदा पनि सन्तुष्टि दिन नसक्ने क्षेत्र पनि भएको बताउनुभयो । उहाँले यातायातसम्बन्धी स्पष्ट राष्ट्रिय नीतिको अभावले विविध समस्या यातायात क्षेत्रले झेल्दै आएको चर्चा गर्दै बागमती प्रदेश सबैभन्दा बढी यातायातका साधन दर्ता भएको, सार्वजनिक यातायात विविधिकरण, लामो दुरीको बढी सवारी चल्ने प्रदेश भएको बताउनुभयो ।

चालक सहचालकलाई प्रदेश सरकार र स्थानीय सरकारले सामाजिक सुरक्षा कोषमा जोड्ने अभियान सुरु गरेको र निरन्तरता दिने मन्त्री थापाको भनाइ छ । उहाँले ट्याक्सी बाहेक अन्य सार्वजनिक सवारीको मापदण्ड बन्न नसकेको बताउनुभयो ।

सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, नेपाल ट्रक यातायात व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका पूर्व अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, अध्यक्ष पूण्यप्रसाद सिटौला, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति सञ्जीव पाठक, नेपाल सङ्घका पूर्व अध्यक्ष बद्रि चौलागाईँलगायतले बोल्नुभएको थियो ।




