काठमाडौँ, असार २६ गते । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएपछि उहाँका आफन्तहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

बिहीबार राहदानी विभागअगाडि पार्किङ गरी राखिएको मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ह्विल लक गरेपछि नेपालीले आत्मदाहको प्रयास गर्नुभएको थियो । तत्कालै प्रहरीले उहाँको उद्धार गरी वीर अस्पताल पुर्याएको थियो । अस्पतालको भेन्टिलेटरमा उपचाररत नेपालीलाई शुक्रबार बिहान चिकित्सकहरूले मृत घोषणा गरेका हुन् ।

नेपालीको मृत्युपछि आक्रोशित आफन्तले राज्यको लापरबाहीका कारण उहाँको ज्यान गएको आरोप लगाएका छन् । उनीहरूले जलनको विशिष्टीकृत उपचार हुने कीर्तिपुरस्थित बर्न अस्पताल लैजानुको सट्टा वीर अस्पतालमै राखेर उपचारमा लापरबाही गरिएको गुनासो गर्दै उचित छानबिन र क्षतिपूर्तिको मागसहित प्रदर्शन गरेका हुन् ।




