छ वटा शैक्षिक संस्थाद्वारा आवेदन पेस

लोकप्रिय

हेटौँडा, कात्तिक १३ गते  । 

विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न बागमती प्रदेश सरकारले प्रक्रिया अघि बढाएसँगै प्रदेशभित्रका छ वटा सामुदायिक एवं सार्वजनिक शैक्षिक संस्थाले इच्छा देखाएका छन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौँडाले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन माग गरेकोमा छ वटा शैक्षिक संस्थाले इच्छा देखाउँदै आवेदन दिएका हुन् । प्रदेश उच्च शिक्षा ऐन, २०७८ बनेको डेढ वर्षपछि परिषद्ले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अघि बढाउँदै गत असोज ७ गते इच्छुक क्याम्पस वा शैक्षिक संस्थालाई प्रस्तावसहित आवेदन दिन सूचना प्रकाशित गरेको थियो । ऐनमा प्रदेश सरकारले प्रादेशिक सार्वजनिक विश्वविद्यालय स्थापना गर्न सक्ने, प्रदेश सरकारको स्वीकृतिमा मुनाफा नगर्ने सामुदायिक वा मानित विश्वविद्यालय स्थापना तथा सञ्चालन हुन सक्ने, शैक्षिक उपाधि प्रदान गर्न सक्ने स्वायत्त प्रतिष्ठान स्थापना गर्न सकिने र यसका लागि परिषद्को सिफारिसमा प्रदेश सरकारको स्वीकृतिले स्थापना हुने व्यवस्था गरिएको छ ।

प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले आइतबार ३० दिने सार्वजनिक सूचना जारी गर्दै प्रदेश उच्च शिक्षा ऐनको अनुसूचीमा व्यवस्था भएको विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिक संस्थालाई आवेदन दिन भनेको थियो । मन्त्रालयका प्रवक्ता खुविराम अधिकारीका अनुसार परिषद्ले माग गरेको समयावधिमा क्याम्पस र शैक्षिक संस्था गरी छ वटाको विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि इच्छा व्यक्त गर्दै आवेदन परेको छ । आवेदन दिने क्याम्पस र शैक्षिक संस्थामध्ये दुई वटा उपत्यकाबाहिरको र बाँकी उपत्यकाभित्रका छन् ।

मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा; धुलिखेल हस्पिटल, धुलिखेल; काठमाडौँ स्कुल अफ ल, सूर्यविनायक, भक्तपुर; बानेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ; मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स काठमाडौँ र डिडब्लु आइटी कलेज, काठमाडौँले आवेदन दिएका छन् । विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठानका लागि आवेदन दिएकामध्ये दुई-दुई वटा शैक्षिक संस्थाले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवेदन दिएका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसले सार्वजनिक विश्वविद्यालय, धुलिखेल अस्पतालले सामुदायिक विश्वविद्यालय, बानेश्वर बहुमुखी क्याम्पस, काठमाडौँ र मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स, काठमाडौँले मानित विश्वविद्यालय तथा काठमाडौँ स्कुल अफ ल, भक्तपुर र डिडब्लु आइटी कलेज, काठमाडौँले प्रतिष्ठान स्थापनाका लागि आवेदन दिएका हुन् ।

प्रदेश उच्च शिक्षा ऐनका दफा ८ र ११ तथा प्रदेश उच्च शिक्षा नियमावलीको नियम १० मा भएको व्यवस्था अनुसार प्रदेश सरकारको निर्णयबाट विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस तथा शैक्षिक संस्थामध्ये स्वास्थ्य, सूचना प्रविधि (इन्जिनियरिङसमेत) र कानुन क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न प्रदेश उच्च शिक्षा नियमावली २०७९ मा व्यवस्था भएको शुल्क, नियमावलीमा रहेको ढाँचामा तयार गरिएको विश्वविद्यालयको विधान, आवश्यक कागजातसहित आवेदन दिनुपर्ने हुन्छ ।

मन्त्रालयका प्रवक्ता अधिकारीले आवेदन प्राप्त भएको र अब आवेदनमाथि आन्तरिक रूपमा छलफल हुने बताउँदै विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगे नपुगेको स्थलगत अध्ययन र जाँचबुझ गरिने बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न आवश्यक पर्ने मापदण्ड बनेको छ । त्यसलाई हेरेर प्रक्रिया पूरा गर्न केही समय लाग्छ । प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले आवश्यकता ठानेर पुनः थप आवेदन माग पनि गर्न सक्छ । 

ऐनमा सङ्घ वा प्रदेशको कुनै विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेको र ऐनको अनुसूचीबमोजिमको मापदण्ड पूरा गरेको कुनै शिक्षण संस्थालाई प्रदेश सरकारले आफैँ वा ऐनबमोजिम स्थापित संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) अन्तर्गत मुनाफारहित सामुदायिक वा मानित विश्वविद्यालय स्थापना गर्न सक्ने व्यवस्था छ ।

ताजा समाचार

Related Articles