नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्र सङ्घ गौरव गर्दछ 

लोकप्रिय

काठमाडौँ, कात्तिक १४ गते । 

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति स्थापनामा मौलिक अभ्यास गरेको बताउनुभएको छ । 

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै महासचिव गुटेरेसले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियामा सहयोग गर्न पाउँदा राष्ट्र संघ गौरव व्यक्त गर्दछ, यस क्षणमा म नेपालका शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्र संघका तर्फबाट सम्मान व्यक्त गर्दछु ।”

नेपालले शान्ति प्रक्रियाअन्तर्गत सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेकामा शुभेच्छा व्यक्त गर्नुहुँदै उहाँले पीडित पक्षको अधिकारको रक्षा गर्दै उक्त प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह गर्नुभयो । महासचिव गुटेरेसले विश्व आर्थिक मन्दीको चुनौतीका बीच नेपालले लैङ्गिक समताका क्षेत्रमा गरेको प्रगति र परिणाम उल्लेखनीय भएको बताउनुभयो । 

यस्तै, महासचिव गुटेरेसले नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति मिसनका लागि गर्दै आएको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज सम्बोधन गर्दै महासचिव गुटेरेसले शान्ति मिसनका क्रममा मारिएका नेपाली सुरक्षाकर्मीको सम्मानमा एक मिनेट मौनधारण गर्न प्रस्ताव गर्दा बैठकमा सबै सदस्यहरु आफ्नो स्थानबाट उठेर मौनधारण गर्नुभएको थियो । रासस 

ताजा समाचार

Related Articles