छुट्टा–छुट्टै दुर्घटनामा दस जना घाइते

लोकप्रिय

हेटौँडा, मङ्सिर २१ गते ।

मकवानपुरमा बुधबार भएको छुट्टा–छुट्टै दुर्घटनामा दस जना घाइते भएका छन् ।

कान्ति लोकपथ मकवानपुरको भीमफेदी गाउँपालिका ८ प्रतापडाँडास्थित सडक खण्डमा काठमाडौँतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा ४ ख ५७८० नं. को बस र विपरीत दिशाबाट जाँदै गरेको ना ८ ख ६४९९ नं.को पराल लोड गरेको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रकका चालक सर्लाही बागमती नगरपालिका १ का वर्ष २५ का नारायणबहादुर रायमाझीको दाहिने खुट्टा र टाउकोमा चोट लागि घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते रायमाझीलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा अवस्था गम्भीर भएपछि थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । बसमा सवार चार जना सामान्य चोट लागेको र उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन घटनास्थलमा रहेको र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै हेटौँडा–धरान–चतरा सडकको मकवानपुरको बकैया गाउँपालिका-४ पाङदुरेस्थित सडक खण्डमा हात्तीसुँढेतर्फबाट जुरेली बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ह ३३९ नं.को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते हुनेहरूमा बकैया गापा ३ जितदमारका वर्ष ३४ का देवलाल जिम्बा, निजको श्रीमती वर्ष ३१ की ठूलीमाया जिम्बा, निजको छोरा वर्ष १२ को सृजल जिम्बा, सोही स्थानका वर्ष २६ की सुनीमाया भ्लोन र वर्ष १२ का युदिर बोगटी रहेका छन् । उनीहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles