उदयपुर सिमेन्ट कारखाना पूर्ण रूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो

लोकप्रिय

उदयपुर, पुस ४ गते ।
अर्थमन्त्री डा प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताउनुभएको छ । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको निरीक्षण गर्दै उहाँले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।

मन्त्री डा महतको सचिवालयका अनुसार सो अवसरमा उहाँले कारखाना निरीक्षणका क्रममा सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको उल्लेख गर्नुभयो । सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा महतको भनाइ थियो ।

निजी क्षेत्रद्वारा धेरै उद्योग व्यवसाय सञ्चालन भएका उल्लेख गर्दै मन्त्री डा महतले श्रमिकका गुनासा सम्बोधन गर्न जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रले आफैँले जमिन किन्छ, उद्योगका संरचना आफैँ निर्माण गर्छ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।”

“उदयपुर सिमेन्ट कारखाना सञ्चालनका लागि जापान सरकारले सहयोग गरेको हो । स्थापनाका बेला कारखानामा रु ४४ करोड लगानी गरिएको थियो । अहिले पनि कारखानाले रु एक अर्बको सावाँ ब्याज केही तिर्नुपरेको छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर कारखानाले पूर्ति गर्न सकेको छैन ।” अहिले कारखानामा रु ७५ करोडको दायित्व रहेको मन्त्री डा महतले बताउनुभयो ।

व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने मन्त्री डा महतको भनाइ थियो । उद्योग बचाउन समयसँगै नयाँ प्रविधिको उपयोग गर्न आवश्यक भएको उहाँले बताउनुभयो । उद्योग बचाउनुपर्छ भन्ने मानसिकता बोकेर काम गरे सरकारले सहयोग गर्ने मन्त्री डा महतले बताउनुभयो ।

काममा व्यावसायिकता देखिनुपर्ने भन्दै मन्त्री डा महतले भन्नुभयो, “प्रतिस्पर्धामा टिक्नुपर्छ । यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जबर्जस्ती बचाउन सकिँदैन । यसलाई बचाउन व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता जनाउनु पर्छ । अनि मात्र सरकारले हेर्छ ।”

ताजा समाचार

Related Articles