राष्ट्रपति पौडेलद्वारा आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

लोकप्रिय

काठमाडौँ, साउन १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज लगायतका क्षेत्रमा हालै देखा परेको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सदियौँदेखि कायम सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन अपिल गर्नुभएको छ।

राष्ट्रपति पौडेलले बिहीबार एक अपिल जारी गर्दै बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय नेपाली समाजमा सदियौँदेखि रहिआएको सद्भाव, मेलमिलाप र भ्रातृत्व नै नेपालको मौलिक पहिचान तथा परम्परा भएको उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “नेपालको यो ऐतिहासिक पहिचानलाई कायम राख्दै देशमा शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछु।”

राष्ट्रपति पौडेलले हाल उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याउन र नागरिकको सहज जीवनयापन गर्ने वातावरण निर्माण गर्न सरकार हरसम्भव प्रयासमा लाग्ने विश्वास व्यक्त गर्नुभएको छ। अपिलमा उहाँले भन्नुभएको छ, “यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायबिच आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न म सबैमा हार्दिक अपिल गर्दछु।”

उहाँले घटनाको निष्पक्ष एवम् सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र आगामी दिनमा यस्ता अवाञ्छित घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबै निकायलाई सचेत रहन आग्रह गर्नुभएको छ। साथै, राष्ट्रपति पौडेलले सो दुःखद् घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घटनामा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ। 

ताजा समाचार

Related Articles