‘संसारी सिमसार’ पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै

लोकप्रिय

धनकुटा, पुस ७ गते ।
धनकुटाको पाख्रीबासस्थित संसारी सिमसार पर्यटकीय क्षेत्र पर्यटकहरुको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ । पछिल्लो समय यहाँ बनभोजका लागि आन्तरिक पर्यटकहरु आउन थालेसँगै सिमसार क्षेत्र मुख्य पर्यटकीय गन्तव्य बन्दै गएको हो ।

धनकुटा सदरमुकामदेखि करिब १८ किलोमिटर उत्तर पश्चिममा पाख्रीबास बजार पर्दछ । पाख्रीबास बजार नजिकै संसारी सिमसार क्षेत्र रहेको छ । कुनैबेला पोखरीको रुपमा रहेको उक्त सिमसार क्षेत्र अहिले भने पर्यटकहरुको प्रमुख गन्तव्य बन्दै गएको छ ।

२०६९ सालदेखि सुरु भएको यस सिमसार क्षेत्रमा अहिले आन्तरिक पर्यटकहरुको बाक्लो उपस्थिति हुन थालेको छ । यहाँ घुम्न, बनभोज र मनोरञ्जनका लागि पर्यटकहरु आउने गरेका छन् ।

२५ रोपनी क्षेत्रफलमा रहेको सिमसारमा ठूला ताल, तालको वरिपरि चिया बगान, बुद्धको मुर्ति, चिडिया खाना र तालमा बोटिङको समेत व्यवस्था रहेको छ । त्यस्तै पिङ, रोटेपिङ, बालबालिकाहरुका लागि मनोरञ्जनका ठाउँ निर्माण गरिएका छन् ।

सुरुसुरुमा विद्यार्थीहरुको रोजाइमा मात्रै पर्ने गरेको सिमसार क्षेत्र प्रचारप्रसारका कारण पछिल्लो समय टाढाटाढाबाट पनि घुम्न आउनेको संख्या बढ्दै गएको छ । सिमसारमा आएपछि मनोरम दृष्यले जो कोहीलाई लोभ्याउने गरेको छ ।

विगतमा चिहानघारी र झाडीजंगलले दिउँसै डरलाग्दो रहेको संसारी सिमसार पर्यटकीय गन्तव्यमा परिणत भएसँगै केही स्थानियले रोजगारी समेत पाएका छन् । त्यसैले यस्ता स्थानको पहिचान गरि संरक्षण गर्न आवश्यक छ ।
– नेपाल टिभी अनलाइनबाट

ताजा समाचार

Related Articles