राप्रपाद्वारा बागमतीमा उम्मेदवारी मनोनयन दर्ता

लोकप्रिय

हेटौँडा, पुस २३ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा सदस्यको रिक्त हुने पदमा बागमती प्रदेशबाट उम्मेदवारी मनोनयनपत्र दर्ता गराएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार हेटौँडा ५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राप्रपाले तीन वटा क्षेत्र (क्लष्टर) मा उम्मेदवारी दर्ता गराएको हो ।
राप्रपाको तर्फबाट बालकुमारी डल्लाकोटी, भरतमणि भट्ट र हेमजङ्ग गुरुङको उम्मेदवारी दर्ता भएको छ । उता पूर्णबहादुर विकको दलिततर्फ उम्मेदवार बनाउने निर्णय राप्रपाले गरेपनि उम्मेदवारी कायम हुन सकेन ।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले विकको उमेर नपुगेका कारण उम्मेदवारी दर्ता हुन नसकेको जानकारी दिनुभयो ।
राप्रपाले महिलातर्फ नानुकुमारी नगरकोटीको नाम उम्मेदवारमा सार्वजनिक गरेपनि अन्तिममा मकवानपुरकी डल्लाकोटीलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारी दर्ता गराउन राप्रपाका बागमती प्रदेश सभाका संसदीय दलका नेता उद्धब थापा, प्रदेश सभाका सदस्यहरुलगायतका नेता तथा कार्यकर्ताहरु पुग्नुभएको थियो ।
राष्ट्रिय सभा सदस्यका लागि सबैभन्दा पहिले नेकपा एमाले र अन्तिममा राप्रपाको उम्मेदवारी दर्ता भएको थियो ।

ताजा समाचार

Related Articles