कार्यतालिका बनाएर संसद् बैठक अगाडि बढाउने विषयमा छलफल

लोकप्रिय

काठमाडौँ माघ ७ गते ।
सभामुख देवराज घिमिरे र प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरूबीच समितिमा रहेका विधेयकको अवस्थाका बारेमा
छलफल भएको छ ।

सभामुख घिमिरेको कार्यकक्ष सिंहदरबारमा आज भएको बैठकमा संसद्लाई प्रभावकारी बनाउन आगामी हिउँदे अधिवेशनबाट कार्यतालिका बनाएर अगाडि बढाउने विषय छलफल भएको सभामुख घिमिरेले जानकारी दिनुभयो ।

बैठकमा सभामुख घिमिरेले संसदीय समितिका काम–कारबाहीलाई समझदारीपूर्ण ढङ्गबाट छिटो निष्कर्ष निकाल्ने गरी काम गर्न समितका सभापतिहरूलाई निर्देशन दिनुभएको छ ।

समितिमा विचाराधिन विधेयकलाई छिटो टुङ्गाउन आवश्यकता अनुसार बैठक राख्न र छलफल गरेर अगाडी बढ्न समितिका सभापतिहरूलाई निर्देशन दिएको सभामुख घिमिरेले बताउनुभयो ।

फरक–फरक समितिले एउटै विषय आफ्नो कार्यक्षेत्र भन्दै काम–कारबाही अघि बढाएको सन्दर्भमा समझदारीपूर्ण ढङ्गबाट आफ्ना–आफ्ना क्षेत्रलाई अगाडी बढाउन निर्देशन दिँदै सहमति नभए प्रगतिको आधारमा एउटाले हेर्ने गरी मिलाउन समेत आफूले निर्देशन दिएको सभामुख घिमिरेले सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

बैठकमा विधेयकहरूमाथि छलफल भइरहेको, प्राप्त अनुभवका आधारमा सुधार गरेर अघि बढ्ने, विभिन्न दातृ निकायबाट समितिहरूलाई आउने सहयोग एकीकृत रुपमा सचिवालयबाट लिएर अगाडी बढ्नुपर्ने विषयमा समेत छलफल भएको सभामुख घिमिरेले बताउनुभयो ।

बैठकमा विभिन्न समितिका सभापतिहरूले समितिले गरिरहेका काम र विधेयकको अवस्थाबारे बैठकमा ‘रिपोर्ट’ प्रस्तुत गर्नुभएको थियो ।

बैठकपछि राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कार्यतालिका बनाए संसद् अगाडी बढाउने, समितिबाट विधेयक छिटोभन्दा छिटो आए सदन चल्न सजिलो हुने लगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles