किसानलाई मौरी घार वितरण

लोकप्रिय

कृषिलाई प्राथमिकता दिँदै आएको मकवानपुरको बकैया गाउँपालिकाले मौरीपालनमार्फत आयआर्जन वृद्धि गर्न स्थानीय किसानलाई मौरीको घार वितरण गरेको छ ।
मौरीपालनको प्रचुर सम्भावना रहेको पालिकाको वडा नं. १०, ११ र १२ का किसानलाई लक्षित गरी १३० मौरीको घार वितरण गरिएको छ ।
बकैया गाउँपालिका वडा नं. ११ स्थित आहालेमा आइतबार आयोजित कार्यक्रमका बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले मौरी घार वितरण किसानालाई उद्यमशीलताबाट मात्र आर्थिक समृद्धि सम्भव रहेको बताउनुभयो ।
उहाँले कृषि ग्राम बनाउन गाउँपालिकाको पालिकाको लगानी तयारी सकारात्मक रहेको बताउँदै पूर्वाधार निर्माणसँगै नागरिकलाई उद्यमशीला जोड्नु आवश्यक भएको बताउनुभयो ।
हामी सडक, विद्यालय, खानेपानी भनिरहेका छौ, तर त्योसँगै नागरिकको दैनिकी चलाउन घरको आम्दानीको पनि कुरा हुनुपर्छ, दैनिक रोजीरोटी चल्नु पर्छ, बिरामी हुँदा उपचार खर्च चाहिन्छ मन्त्री चित्रकारले भन्नुभयो, यी सबैका लागि श्रोत जुटाउनसँगै राज्यलाई करको श्रोतका लागि पनि । उद्यमशीलता र व्यावसायिकता आवश्यक हुन्छ, विकास भनेको चक्र हो । भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास हुँदैछ ।
उहाँले अगाडि भन्नुभयो, रोजगारी बिना समृद्धि हासिल गर्न सकिँदैन, उद्यमशीलता र पूर्वाधार विकासलाईसँगै जोडेर लैजानु आवश्यक छ ।
मन्त्री चित्रकारले प्रदेश सरकारले पालिकालाई कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताउँदै हाम्रो कृषि प्रधान देश भएपनि जमिन बाझो रहँदा उत्पादन घट्न गई कृषि क्षेत्रको राष्ट्रिय उत्पादनमा योगदान कम हुँदै गएको बताउनुभयो ।
बागमती प्रदेश सभाका सदस्य श्रीराम लामिछानेले कृषिमा वैज्ञानिकीकरण आवश्यक भएको बताउँदै कृषिलाई वैज्ञानिकीकरण गर्न नसकेकोले समस्या भएको धारणा राख्नुभयो । उहाँले कृषि उत्पादनलाई बजारसँग जोड्नु आवश्यक भएको बताउँदै किसानले उत्पादन गरेको बस्तुको बजारीकरण गर्ने गरी प्रदेशले नीति बनाउँदै गरेको बताउनुभयो ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामछिानेले पालिकाको ठिङ्गन र मन्थली क्षेत्र मौरीपालनका लागि उपयुक्त भएकोले किसानलाई तालिमसँगै सहुलियतमा मौरी घार उपलब्ध गराइएको बताउनुभयो । उहाँले किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको बजार व्यवस्थाका लागि जिम्मा पालिकाले लिने बताउँदै मौरीपालनसँगै फलफूल खेतीमा समेत पालिकाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ र कृषि ईन्जिनियर बुद्धिनाथ तिमिल्सिनाले पालिकाको वडा नं. १०, ११ र १२ मा मौरीका लागि आवश्यक श्रोत पर्याप्त रहेको बताउनुभयो ।
कार्यक्रममा बकैया गाउँपालिका वडा नं. १० का वडाध्यक्ष कमलाकुमारी वाइवा, वडा नंं ११ का वडाध्यक्ष गोपालबहादुर नेसुर लामा, वडा नं. १२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँलगायतको उपस्थिति रहेको थियो । किसानलाई पालिकाले मौरीघार लागत सहभागितामा उपलब्ध गराएको हो । पाँच हजार रुपियाँ पर्ने प्रति मौरीघारका लागि किसानलाई दुई हजार २५० रुपियाँ उपलब्ध गराइएको पालिकाले जनाएको छ ।

ताजा समाचार

Related Articles