विश्व बैङ्कसँगको सहकार्य अझ सुदृढ हुने

लोकप्रिय

काठमाडौँ, चैत १० गते ।
अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गर्नुभएको छ ।

बैंकका उपाध्यक्ष त्रय रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनसँग बिहीबार राति भएको भर्चुअल बैठकमा अर्थमन्त्री पुनले रेजरलाई लगानी सम्मेलनमा सहभागी हुन निमन्त्रणा गर्नुभएको हो । औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिनुभएको हो ।

भर्चुअल बैठकमा अर्थमन्त्री पुनले नेपालले वैदेशिक लगानीसहित निजी क्षेत्रको भूमिका र पुँजी परिचालनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

लगानी सम्मेलनका लागि आवश्यक कानूनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी उहाँले दिनुहुँदै सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले विश्व बैङ्कसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

जवाफमा रेजरले निमन्त्रणाका लागि धन्यवाद दिनुहुँदै नेपाल र विश्व बैंकबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताउनुभयो।

तेस्रो लगानी सम्मेलन आगामी २०८१ वैशाख १६ र १७ गते काठमाडौँमा हुँदैछ ।

ताजा समाचार

Related Articles