हेटौँडा, पुस २० गते ।
ऐतिहासिक एवं पर्यटकीय महत्वको मकवानपुरको थाहा नगरपालिका १० स्थित चित्लाङमा हरेक १२ वर्षमा लाग्दै आएको बाह्र वर्षे नाच छ वटा खटमा देखाइएको छ ।
सनातन संस्कृति अन्तर्गत हरेक बाह्र वर्षमा लाग्ने ऐतिहासिक एवं धार्मिक महत्वको नाच यो वर्ष महाभारत काण्डमा आधारित कथामा आधारित भएर प्रदर्शनी गरिएको छ ।
गत कात्तिक १ गतबाट चम्पाकेश्वर महादेव जात्राको दिनदेखि देखाउन शुरु गरिएको सो नाच थाहा नगरपालिका १० स्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति संरक्षण समितिको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।
समितिका संयोगक दीपक गोपालीले गोपाली समुदायको बाह्र बर्षे नाच कात्तिक १ गतेका दिन भएको चम्पाकेश्वर महादेव जात्राको दिनदेखि देखाउन शुरु गरेको र सो नाच यसै वर्ष फागुण मसान्तमा सम्पन्न गर्नुपर्ने जानकारी दिनुभयो ।
साँझ १२ पटकसम्म देखाएर आगामी फागुन मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने बाह्र बर्षे नाच हालसम्म थानकोट, थाहा नगरपालिका १० को टौखेलमा रहेको खटमा तीन पटक र न्हुलगाउँमा रहेको खटमा दुई पटक प्रदर्शन गरिएको उहाँले बताउनुभयो ।
महाभारत कथामा आधारित उक्त नाचमा महाभारत कथाका पात्रहरु रहने उक्त नाचमा पाण्डबहरुले जुवा खेल्ने, अन्तिममा दुर्योधन र भीमका बिच लडाई हुनेलगायतका श्रृङ्खला प्रदर्शन हुने छ ।
नाचमा गुरु र कथाका पात्र गरी करिब ९० जना रहेको बताउँदै संयोजक गोपालीले नाचका लागि आवश्यक स्रोत स्थानीय स्तरबाट जुटाइएको बताउनुभयो ।
तस्विरः थाहा नगरपालिका १० मा हरेक १२ वर्षमा लाग्दै आएको बाह्र वर्षे नाच प्रदर्शन गरिँदै ।