अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीको: प्रचण्ड

लोकप्रिय

बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौँ जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताउनुभएको छ ।

कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले जनताको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सबै षड्यन्त्रलाई परास्त गर्दै जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो, यसमा हामी कतै विचलित हुने छैनौँ, दृढ प्रतिबद्धताका साथ अघि बढ्ने छौँ ।’

जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा स्पष्ट गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘हिजो जनवादी क्रान्तिको बेलामा आत्मनिर्णयको अधिकार, जातीय क्षेत्रीय मोर्चाको अवधारणा महत्वपूर्ण थियो तर अब समाजवादी क्रान्तिमा यसको महत्व छ कि छैन भन्ने केही समय अलमल जस्तो देखियो ।’

उहाँले थारु समुदाय लगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरूले सङ्घर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । तत्कालीन सशस्त्र युद्धमा सबैभन्दा धेरै बेपत्ता पारिने बर्दिया जिल्लाका नागरिक रहेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख रहेको बताउँदै उहाँले नेपालको राजनीतिक परिवर्तनमा थारु समुदायले ऐतिहासिक बलिदानी गरेको बताउनुभयो ।

थारु समुदायको नेतृत्व गर्ने राष्ट्रिय शक्ति माओवादी अब फेरि आफ्नो वर्ग र समुदायमा फर्किने प्रतिबद्धतासहित रुपान्तरणको दिशामा अघि बढेकाले थारु समुदायकै मुक्तिका लागि फरक शक्ति आवश्यक नपर्ने उल्लेख गर्दै उहाँले रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आह्वान गर्नुभयो । उहाँले विगतमा माओवादीमा रहेर हाल अन्य दलमा पुगेका थारु अगुवाहरूलाई पनि मूल घरमै फर्केर थारु अधिकार थप स्थापित गर्ने आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभयो ।

 

ताजा समाचार

Related Articles