हेटौँडा, फागुन २० गते ।
मकवानपुरमा माझी समुदायले मङ्गलवार लदी पर्व (कोशी पूजा) मनाएका छन् । नेपाल माझी उत्थान सङ्घ केन्द्रीय समितिको आयोजनामा मकवानपुरको बकैया गाउँपालिका ६ स्थित जुइनामा सामुहिक रुपमा विशेष कार्यक्रम गरी मनाइनेभएको हो ।माझी समुदायले मकवानपुरको बकैया–गाउँपालिका ६, जुईनामा विशेष कार्यक्रमको आयोजना गरेर लदि पर्व मनाएका हुन् । सो अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा भएको थियो ।

सीमान्तकृत माझी समुदायले प्रत्येक वर्ष फागुन महिनाको तेस्रो (साइली) मङ्गलबारर विशेष पर्वका रुपमा मनाउने लदि अर्थात् नदी पूजा गर्ने प्रचलन छ । नदीमा माछा मार्दा र डुङ्गा तार्दा मानवीय क्षति नहोस् भन्ने कामनासहित बर्सेनि माझी समुदायले लदी पर्वको दिन नदी किनारमा जम्मा भई विशेष पूजाआजा गर्ने गर्दछन् ।

नदी छेउमा गई बोका, पाठी, परेवा र कुखुराको बली दिने र मौलिक विधिद्वारा नदीको पूजा गरेर लदी पर्व मनाइन्छ । लदी पर्वको अवसरमा माझी समुदायको बाहुल्य रहेको मकवानपुरको बागमती र बकैया गाउँपालिकाले आज स्थानीय बिदा समेत दिएको थियो । साथै बागमती प्रदेश सरकारले माझी समुदायका लागि बिदा दिने निर्णय गरेको थियो । माझी समुदायको नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरुमा प्रमुख बसोवास रहेको छ । परम्परादेखि नदी, खोलामा निर्भर माझीहरुको पुख्र्यौली पेसा माछा मार्ने र डुङ्गा चलाउने भएता पनि हाल कृषि पेशालाई मुख्य पेसाको रुपमा लिँदै आएका छन् । छुट्टै इतिहास, भाषा, संस्कार, संस्कृति, पहिचान र विशेषता भएको यो जातिहरुको बसोबास प्रायःजसो नदी किनारमा रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा एक लाख ११ हजार ३५२ जनसङ्ख्या माझीहरुको रहेकोमा सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ बसोवास गर्दछन् ।
माझी भाषा बोल्ने ३२ हजार ९१७ जनसङ्ख्या रहेको तथ्याङ्क छ ।




