धनगढी । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सात बुँदे समझदारी (नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको सहमति) अनुसार वर्तमान सरकारलाई सन्तुलित ढङ्गले अघि बढाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज धनगढीमा आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियानको उद्घाटन गर्नु हुँदै नेता सिटौलाले काँग्रेसभित्र बृहत् एकता जरुरी रहेको बताउनुभयो ।
उहाँले पार्टी र सरकारबिच समझदारी गरि सुदृढ दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको हितमा संविधान संशोधन गरिनुपर्ने बताउनुभयो । नेता सिटौलाले हरेक आन्दोलनले आधुनिक नेपालको जग निर्माण गरेको र आजको नेपाल काँग्रेसको अगुवाइमा भएको बताउनुभयो ।
राजतन्त्र कुनै हालतमा फर्किन भन्नुहुँदै उहाँले चिच्याएर, सडकमा कराएर राजतन्त्र नआउने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्मा, केन्द्रीय सदस्य नृप बड, सुशिला मिश्र भट्ट लगायतले पार्टीलाई मजबुत बनाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।