भँगेरा जोगाउन वीरगञ्जमा विशेष अभियान, १५ सय गुँड वितरण

लोकप्रिय

वीरगञ्ज । विशेष गरी वीरगञ्ज लगायत तराई मधेसका बजार क्षेत्रमा लोप हुँदै गएका भँगेरा जोगाउन वीरगञ्जमा विशेष अभियान शुरु भएको छ ।

अभियान अन्तर्गत पहिलो चरणमा १५ सय गुँड वितरण गरिएको छ । मानिसको आसपास गुँड बनाएर बस्ने भँगेरा लोप हुँदै गइरहेको भन्दै भँगेराको संरक्षणका लागि वीरगन्जमा अभियान शुरु भएको हो । ज्वाइनिङ ह्याण्डस् फर गुड रिजन नामक संस्था र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा भँगेरा लोप हुनबाट बचाउन भँगेरा बस्ने गुँड वितरण गरिएको हो ।

पहिलो चरणमा भँगेरा बस्ने गुँड वीरगञ्ज महानगरपालिकाको सहकार्यमा १५ सय थान वीरगञ्ज महानगरपालिकाका विभिन्न घर धुरीहरूलाई निःशुल्क वितरण गरिएको संस्थाका सदस्य अनिशकान्त कुशवाहाले बताउनुभयो ।

हिन्दु धर्म संस्कृतिमा शुभ सङ्केतका रुपमा मानिने भँगेरा बासस्थानको अभावमा लोप हुन थालेको अवस्था देखिएपछि उक्त चराको संरक्षणका लागि आफूहरूले अभियान नै सुरु गरेको कुशवाहाले जानकारी दिनुभयो ।

भँगेरा खास गरि कच्ची घरहरूको खरले छाएको छाना र पाली, गोठ, परालको टौवामा गुँड बनाएर बस्ने गरेकोमा हाल बढ्दो सहरीकरणका कारण खरले छाएका कच्ची घरहरू लोप हुन लागेको र गाउँमा समेत पक्की घर र टिनले छाएर घर बनाउने प्रचलन बढेपछि भँगेरा लोप हुँदै गई रहेको अभियन्ता नूतन सरावगीले बताउनुभयो ।

बासस्थानको अभावमा भँगेरा लोप हुन थालेपछि त्यसको संरक्षणका लागि संस्थाले पक्की घरकै बार्दली, झ्याल र भेन्टिलेसन भएका कोठामा राख्न मिल्ने तरिकाले निर्माण गरिएका गुँड वितरण थालिएको सरावगीले बताउनुभयो ।

अभियान अन्तरगत महानगरपालिकाका विभिन्न वडामा माग भए बमोजिम गुँड निर्माण गरी निःशुल्क वितरण गरिने जनाइएको छ ।

ताजा समाचार

Related Articles