स्याङ्जा, चैत ९ गते । स्याङ्जाको भिरकोट नगरपालिका–६, एकुवारका महिला समूह लोपोन्मुख बाजाको संरक्षणमा जुटेका छन् ।
नेपाली संस्कृतिको पहिचानका रूपमा रहेको पन्चैबाजाको प्रयोग बिस्तारै कम हुँदै गएको अवस्थामा स्याङ्जाको भिरकोट नगरपालिका महिलाहरु पञ्चैबाजाको संरक्षणमा जुटेका हुन् । नेपाली संस्कृतिको पहिचानका रूपमा रहेको पन्चैबाजाको प्रयोग बिस्तारै कम हुँदै गएको छ ।
पन्चैबाजा बजाउने जनशक्ति अभाव भएपछि महिला अगाडि सरेका हुन् । पन्चैबाजामा समावेश हुने दमाहा, टेम्को, ढोलकी, सनई जस्ता बाजा बजाउँदै यहाँका महिला पूजा, व्रतबन्ध, विवाह, मेलापातमा गाउँबस्तीमा समेत हिँड्न थालेका छन् । पुरुष विदेश जाँदा यहाँका आमाले पन्चैबाजा आमा समूह गठन गरेर बाजा बजाउन थालेका ईशा रानाले बताउनुभयो । चुलोचौकामा मात्र सीमित महिलाका लागि आम्दानी र पुस्ता हस्तान्तरण पनि हुने भएकाले बाजा बजाउन तालिम दिई अगाडि बढाएको वडा नं ६ का अध्यक्ष लक्ष्मण खत्री बताउनुभयो । उहाँले आमाहरूले तालिमकै क्रममा बाजा बजाएर ७० हजार रुपियाँभन्दा बढी कमाएको बताउँदै महिलालाई आत्मनिर्भर बनाउन र संस्कृति जोगाउन तालिम दिइएको स्पष्ट पार्नुभयो ।
पछिल्ला केही वर्ष लोप हुँदै गएका मौलिक लोकबाजाको संरक्षणका लागि केही स्थानीय तहले पन्चैबाजा वितरण गर्दै आएका छन् ।