नियमविपरीत प्राध्यापक नियुक्त गरेकोप्रति पाँच विद्यार्थी सङ्गठनको विरोध

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ३२ गते ।
मकवानपुर बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी सङ्गठनहरु क्याम्पस प्रशासनले नियमविपरीत प्राध्यापक नियुक्ति गरेको भन्दै विरोधमा उत्रिएका छन् ।
क्याम्पसमा रिक्त रहेको नेपाली विषयको एक जना प्राध्यापकको स्थानमा तीन जना प्राध्यापक नियुक्त गरेपछि विरोधमा पाँच विद्यार्थी सङ्गठन आन्दोलित बनेका हुन् ।
क्याम्पस प्रमुख शङ्करप्रसाद उपाध्यायलाई पाँच विद्यार्थी सङ्गठनले बिहीबार संयुक्त रुपमा ध्यानाकर्षणपत्रसहित बुझाउँदै ४८ घण्टे अल्टिमेटम दिएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पस एकाई नेपाल विद्यार्थी सङ्घका अध्यक्ष बुद्धबहादुर ब्रम्ह (बराम), अखिल (क्रान्तिकारी) का अध्यक्ष छोइसाङ लामा(स्याङ्तान), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष समृत खतिवडा, अखिल (क्रान्तिकारी) का अध्यक्ष सुवास सिं र अनेरास्ववियुका उपाध्यक्ष दीपेश कार्कीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको ध्यानाकर्षणपत्रमा विधि विधान विपरीत नियुक्त प्राध्यापक तुरुन्त नहटाएमा आन्दाmेन गर्ने भनिएको छ । क्याम्पसका नेपाली विषयका प्राध्यापक रामचन्द्र सुवेदी सेवा निवृत भएपछि नेपाली विषयको प्राध्यापक आवश्यक परी विज्ञापन आव्हान गरिएको थियो ।
प्राध्यापकको परीक्षाफल प्रकाशित गर्दा वैकल्पिकमा नाम रहेकालाई पनि नियुक्त गरेकामा विद्यार्थीहरुले आपत्ति जनाएका हुन् ।
पाँच विद्यार्थी सङ्गठनले ४८ घण्टाभित्र आफ्ना माग पूरा नगरेमा आन्दोलनमा जाने र त्यसबाट हुने क्षतिको जिम्मेवार क्याम्पस प्रशासननै हुने चेतावनी दिएका छन् ।
यसअघि बुधबार क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै अवैधानिक रुपमा प्राध्यापक नियुक्ति गरेकोमा आपत्ति जनाउँदै सच्याउन माग गरेको थियो ।
स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसको विधि विधान विपरीत नियुक्त गरिएका प्राध्यापकहरुलाई तत्काल हटाउन भन्दै स्ववियुको मागलाई संवोधन नगरेमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको थियो ।

ताजा समाचार

Related Articles