नयाँ पुस्ताका पत्रकारको अवसर र चुनौतीका बारेमा चर्चा

लोकप्रिय

हेटौँडा, चैत १४ गते । पछिल्लो समयमा पत्रकाररिता क्षेत्रमा युवा पुस्ताको आकर्षण कम भईरहेकोको समयमा नयाँ पुस्ताका पत्रकारहरूका लागि अवसर, चुनौती र आवश्यक तयारीबारे हेटौँडामा चर्चा गरिएको छ ।
स्वतन्त्र पत्रकार संघ मकवानपुरको आयोजनामा बिहीबार हेटौँडामा अग्रज पत्रकार, सञ्चार विज्ञ, सामाजिक एवं राजनीतिक अगुवा, र युवा पत्रकारलगायतको सहभागितामा ‘मकवानपुरे पत्रकारितामा नयाँ पुस्ता– चुनौती, अवसर र तयारी’ का बारेमा छलफल गरिएको हो ।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्ट, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र युवा पत्रकार जमुना थिङले पत्रकारिताको विगतदेखि वर्तमानसम्म, नयाँ पुस्ताका पत्रकारका लागि अवसर र चुनौती, पत्रकार आचारसंहितालगायतका बारेमा धारणा राख्नुभएको थियो ।
पत्रकार विष्टले नेपालमा पत्रकारिता विगतको तुलनामा सहज भए पनि त्यससँगै चुनौती थपिएको उल्लेख गर्दै भन्नुभयो “विगतमा पत्रकारिता संघर्षपूर्ण भए पनि अनुशासनयुक्त थियो । अहिले प्रविधिको विकासले समाचार सम्प्रेषण सहज बनेको छ, तर कन्टेन्टको गुणस्तर र अनुशासन चुनौती बनेका छन् ।”
उहाँले विशेष गरी सामाजिक सञ्जालमा मात्र निर्भर भएर पत्रकारिता गर्ने प्रवृत्तिलाई गलत भएको जिकिर गर्दै अनुसन्धानात्मक पत्रकारितामा ध्यान दिनुपर्ने औँल्याउनुभयो । “समाजका दबिएका आवाजहरूलाई उठाउनु नै पत्रकारिताको मूल उद्देश्य हो। नयाँ पुस्ताले डिजिटल युगमा मौलिकता जोगाउँदै गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्छ,” उहाँले जोड दिनुभयो ।
सञ्चार रजिष्ट्रार सापकोटाले इन्टरनेट प्रविधिको विकाससँगै अनलाइन मिडियाको वृद्धि भए पनि समाचारको गुणस्तरमा सुधार नआएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “पहिले सञ्चारमाध्यम सीमित थिए, तर समाचारको गहिराइ थियो। अहिले भने माध्यम धेरै भए पनि विश्वसनीयता र गहिराइमा कमी देखिन्छ ।”
सञ्चार व्यवसायलाई आर्थिक रूपमा सबल बनाउन विज्ञापन तथा डिजिटल आम्दानीका नयाँ मोडेलहरू अपनाउनु आवश्यकभएको भन्दै उहाँले नयाँ पुस्ताले पाठकको विश्वास जित्न व्यावसायिकता, अनुसन्धान र नवीनता अपनाउनु पर्ने सुझाउनुभयो ।
त्यस्तै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अधिकारीले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुन नहुनेमा जोड दिँदै पत्रकारिता सुरक्षित हुनुपर्ने बताउनुभयो ।
सरकार वा कुनै समूहको दवाबमा समाचार रोक्ने प्रवृत्ति ठिक होइन भन्दै उहाँले भन्नुभयो, नयाँ पुस्ताले अनुसन्धानमूलक पत्रकारितालाई अघि बढाउनुपर्छ । मकवानपुरे पत्रकारिता अन्य ठाउँको भन्दा जिम्मेवार, नागरिकप्रति उत्तरदायी र व्यावसायिक छ ।
युवा पत्रकार थिङले नयाँ पुस्ताले डिजिटल मिडियामा अवसर खोज्न सक्ने भए पनि सामग्रीको गहिराइ र पत्रकारिता आचारसंहिता पालना नगर्ने प्रवृत्तिले समस्या निम्त्याउने गरेको बताउनुभयो ।
समाचार लेखेपछि विभिन्न पक्षबाट हटाउनुपर्ने दबाब आउने गरेको छ उहाँले भन्नुभयो, “ पत्रकारितामा चुनौतीसँगै अवसर पनि छ ।”
उहाँले श्रमजीवी पत्रकार ऐन लागु हुन नसकेको पत्रकारिता क्षेत्रमा श्रमको उचित मूल्याङ्कन हुन नसकेको बताउनुभयो ।
“हामी नयाँ पुस्ताले प्रविधिलाई आत्मसात गर्दै पत्रकारितामा नयाँ प्रयोग गरिरहेका छौँ । सामग्रीमा नवीनता खोज्ने प्रयास पनि गरिरहेका छौँ, उहाँले भन्नभभयो, तर कहिलेकाहीँ समाचार हटाउन दबाब आउने समस्या झेल्नुपर्छ । त्यसैले पत्रकारितामा विश्वसनीयता कायम राख्न विशेष ध्यान दिन जरुरी छ ।”
कार्यक्रममा छलफलमा उठेका विषयमाथि टिप्पणी गर्दै पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालले अनुसन्धानमूलक, तथ्यमा आधारित र जिम्मेवार पत्रकारितामा ध्यान दिन नयाँ पुस्ताका पत्रकारहरूलाई सुझाउनुभएको थियो । “पत्रकारिता अब समाधानमुखी र सिर्जनात्मक हुनुपर्छ । अहिलेको चुनौतीलाई चिर्न अध्ययनशील पत्रकार मात्र टिक्न र बिक्न सक्छ,” उहाँले निष्कर्ष थियो ।
उहाँले आफ्नो पुस्ता र नयाँ पुस्ताबीच ज्ञान, अनुभव र कार्यशैलीमा ठूलो अन्तर रहेको बताउँदै, नयाँ पुस्ताले त्यो खाडल पार गर्न अझ कठिनाइ भोग्नुपर्ने उल्लेख गर्नुभयो । “अहिलेको पुस्ताले प्रविधिको सहजता पाएको छ, तर गुणस्तर कायम राख्न चुनौती थपिएको छ,” उहाँले थप्नुभयो ।
स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरे अनुरागले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष सुरेश श्रेष्ठ र सचिव वसन्त भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले सामाजिक सञ्जालको प्रयोग, नयाँ पुस्ताका पत्रकारलाई टिकाउने योजनालगायतका विषयमा जिज्ञाशा राख्नुभएको थियो । May be an image of 9 people and text

ताजा समाचार

Related Articles