भक्तपुर – नेपाल भाषा, कला संस्कृति र साहित्यको उत्थानमा जोड दिदै नेपालको समग्र विकासमा टेवा पुर्याउन भक्तपुरमा विश्व नेवा: दिवस मनाउन लागिएको छ । विभिन्न कार्यक्रमहरू सार्वजनिक गर्दै हलिं नेवा: दबूले आउँदो शनिवार संसारभर छरिएर रहेका नेवारहरूलाई एक ठाउँमा ल्याउन लागिएको संस्थाका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले बताउनु भयो । पत्रकार सम्मेलन मार्फत विश्व नेवा: दिवस यस वर्ष भक्तपुरको दरबार क्षेत्रमा मनाउन लागिएको जानकारी दिनुभयो । काठमाडौँमा ५ पटक, ललितपुरमा दुई पटक दिवस मनाइसकिएको र यस वर्ष यही चैत्र १६ गते विश्व सम्पदा क्षेत्रमा यो दिवस मनाउन लागिएको हो । स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन गर्ने उद्देश्यसहित उक्त दिन सांस्कृतिक कार्यक्रम पनि हुने संस्थाले जनाएको छ ।
नेपाल र नेवारी संस्कृतिको उत्थानमा योगदान पुर्याउनु हुने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताउनु भयो । उक्त दिन ४ जना व्यक्तित्वहरूलाई विशेष सम्मान गरिने भएको छ । हलिं नेवा: दबूको नेपाल च्याप्टरले विगत ५ वर्षदेखि वरिष्ठ गायक रमेश ताम्राकारको स्मृतिमा स्थापना भएको रमेश ताम्राकार स्मृति पुरस्कार वरिष्ठ गायक सत्यनारायण मानन्धरलाई नगद रु १५ हजार सहित सम्मान गर्ने जनाएको छ ।
यसै गरी जयराम श्रेष्ठ स्मृति पुरस्कार पहिलो पटक वरिष्ठ गायिका तीर्थ कुमारीलाई प्रदान गरिने भएको छ । दत्तात्रयमा भेला भई विभिन्न सांस्कृक्तिक झाँकीसहित उक्त दिन नगर परिक्रमा गर्ने कार्यक्रम रहेको संस्थाको भनाइ छ । प्रसिद्ध विश्वकर्मा भैलः प्यावं, घिन्ताङ्गधिसि नाच, दाफा भजन, सानुमाया ताम्राकार भजन, राजा रानी नाच र इन्दिरा लाछिमस्यूको संयोजनमा विशेष धिमे बाजा प्रस्तुति हुने जनाइएको छ । दिवसलाई भव्यतापूर्वक सम्पन्न गर्न राधेश्याम त्वानाबासुको संयोजकत्वमा मूल समारोह समिति गठन गरेका छ । अञ्जना ताम्राकारको संयोजकत्वमा आर्थिक उपसमितिको गठन गरेको छ ।