हेटौँडा, चैत १५ गते ।
भाउजुको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाबाट निजको आफ्नै देवरलाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल बस्ने वर्ष २३ का राहुल भन्ने रमेश दासलाई आफ्नै भाउजुको हत्या अभियोगमा प्रहरीले नियन्त्रणमा लिएर बिहीबार सार्वजनिक गरेको हो ।
रमेशले बुधबार दिउँसो १६ः१० बजेको समयमा आफ्नै दाजु वर्ष २८ का रुपेश दासलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । रुपेशमाथि खुकुरी प्रहार गरी घाइते बनाएको खबर प्राप्त भएपछि प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले निज रमेश दासलाई नियन्त्रणमा लिएको जिल्लाप्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
रमेश दासलाई नियन्त्रणमा लिएपछि निजकै भाउजु गुडिया दास कोठाभित्र मृत अवस्थामा रहेको राति बुधबार राति ९ः०० बजेको समयमा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा गएको अनुसन्धान टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा निज रमेशले दाजु रुपेशलाई खुकुरी प्रहार गर्नुभन्दा पहिलेनै भाउजु ३५ वर्षीया गुडिया दासको हत्या गरेको पाइएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । उहाँका अनुसार गुडिया दासको टाउको तथा शरीरको विभिन्न भागहरुमा हसिया प्रहार गरेर हत्या गरी कोठामा बाहिरबाट ताल्चा लगाएको खुल्न आएको छ ।
प्रहरीले घटनास्थलबाट खुकुरी र हसिया एक–एक थान बरामद गरेको छ ।
साथै निज रमेशलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ज्यानसम्बन्धी मुद्दामा तीन दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।