हेटौँडा, चैत १८ गते ।
बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी पर्व र विशेष अवसरमा गरी थप चार दिन बिदा दिनेभएको छ ।
बागमती प्रदेश सरकारको सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको मन्त्रीपरिषद् बैठकले आगामी वर्ष २०८२ सालमा थप चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सङ्घीय सरकारले तोकेको भन्दा थप छ दिन पर्वलगायतका विशेष अवसर सार्वजनिक बिदा प्रदेश सरकारले दिन सक्ने अधिकार रहेको भन्दै मन्त्रीपरिषद् बैठकले विभिन्न पर्वसहित विशेष अवसरमा गरी २०८२ सालमा थप चार दिन बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वय आएको दिन वैशाख २४ गते, चेपाङ समुदायले भदौमा मनाउने न्वागी पर्व, माझी समुदायको लदी पर्व र गाईजात्राका अवसरमा बिदा दिने गरी मन्त्रीपरिषद् बैठकले निर्णय गरेको हो । उहाँले भन्नुभयो, पात्रो पनि बनाउने समय भएको छ र पछि पुन पटक पटक निर्णय गर्न नपरोस् भनेर निर्णय गरेका हौँ ।
बैठकले प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेश अहिलेसम्म प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ अनुसार गठन भई कार्य गर्दै आएकोमा ऐन नै बनाउनका लागि विधेयक बनाउन मन्त्रीपरिषद् बैठकले मस्यौदा तयारीका लागि स्वीकृति प्रदान गरेको छ ।
यस्तै बैठकले पूर्वाधार विकास कार्यालय ललितपुरको प्रमुखमा ईन्जिनियर राजु श्रेष्ठलाई बढीमा छ महिनाका लागि कामु भई कार्यगर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको छ । पूर्वाधार विकास कार्यालय ललितपुरको प्रमुख ११ औँ तहको अधिकृत हुने व्यवस्था रहेको छ ।
साथै बैठकले ट्याक्सी सञ्चालनसम्बन्धी कार्यविधि निर्माणलगायत प्रदेश सरकारको एकल अधिकारमा रहेको यातायात क्षेत्रको अधिकारका लागि संवैधानिक इजलाशमा मुद्दा दायर गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो । बैठकले समपुरक अनुदानसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।