हेटौँडा, चैत १९ गते । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा सोमबार लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेका छन् ।
कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारी रहेको सूचना पाएर ईलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीको पेस्तोल लागुऔषध कारोबारीले लुटेर लगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले अफिम कारोबारीहरु त्यहाँ रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जानकारी दिनुभयो ।
लागुऔषध कारोबारीसहितका १०–१५ जनाको समुहले हुलहुज्जत गरी पेस्तोल लुटेर लगेको भन्दै उहाँले पेस्तोल र लुटपाटमा संलग्नहरुको खोजी कार्यभईरहेको बताउनुभयो ।
सो क्रममा प्रहरीमाथि कुटपिटसमेत गरिएको थियो ।
हवल्दार तामाङ र सहायक हवल्दार मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए । अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहमा रहेका स्थानीयले घेरा हालेर प्रहरीलाई कुटपिट गरेका थिए ।
घटना पाए लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भएपनि हतियार अझै फेला परेको छैन ।
प्रहरी नायब उपरीक्षक अर्यालले आफूहरु पेस्तोल र उक्त घटनामा संगल्न भएकाहरुको खोजी कार्यमा रहेको जानकारी दिनुभयो ।