हेटौँडा, १९ चैत २०८१ ।
राधिका फाउन्डेसनले आश्रममा रहेका बालबालिकाहरुको सहयोग जुटाउन हेटौँडामा शिव महापुराण गर्ने भएको छ । आगामी वैशाख २ गतेदेखि १३ गतेसम्म हेटौँडा उपमहानगरपालिका ५, पिप्ले क्याम्पा रंगशालामा शिव महापुराण आयोजना गर्ने भएको हो । झापाको कन्काइ–६, मनसापुरस्थित आश्रममा आश्रय लिइरहेका बालबालिकाको लालनपालन, शिक्षालगायतका लागि सहयोग जुटाउन महापुराण आयोजना गर्न लागेको राधा फाउन्डेसन तथा पुराण आयोजक समितिले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी गराइएका छ ।
भागवत् कथावाचिका राधिका दासीले हाल दाताहरुको सहयोगमा मनसापुरमा १८ कोठे आश्रम तथा सत्संग भवन निर्माण जारी रहेको जानकारी दिँदै आगामी वैशाखा
१४ गते हेटौँडाका ९० वर्ष कटेका वृद्धवृद्धा तथा समाजमा धार्मिक तथा सांस्कृतिक जागरण गदै आएका आमा समूहमा रहेकालाई सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
उहाँले शिव महापुराण रकम संकलनका लागिमात्र नभएर आध्यात्मिक ज्ञान र चेतनाका लागि पनि भएको जानकारी दिनुभयो ।
हेटौँडामा हुने शिव महापुराण कार्यक्रमका लागि हेटौँडा उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष सुशील घिमिरे संयोजक रहनुभएको छ । वैशाख २ गते राप्ती तटस्थित गोरक्षेश्वरबाट कलशयात्रा गरी सुरु गरिने भएको छ ।
राधिका फाउन्डेसनले झापाको कन्काइमा घर भाडामा लिइ १५ बालबालिका अंग्रेजी माध्यममा अध्यापन गराइरहेको र ३५ बालबालिका काठमाडौँका विभिन्न विद्यालयमा आवासीयरुपमा रहेको सो अवसरमा जानकारी दिइएको थियो ।