लम्पी स्किनविरुद्ध ४८ हजार बढी पशुलाई खोप

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ४ गते ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि सुरु गरेको खोप अभियानअन्तर्गत बागमती प्रदेशमा ४८ हजारभन्दा बढी पशुलाई खोप लगाइएको छ ।
अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका ९१ वटा स्थानीय तहमा हालसम्म ४८ हजार ३६४ वटा पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
साउन २५ गतेबाट सुरु भएको साताव्यापी अभियानमा स्थानीय तह र किसानबाट समय थप गर्न माग भएपछि दुई दिन थप गरी पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्ममा सबैभन्दा बढी चितवन जिल्लामा १० हजार २१९ वटा पशुमा खोप लगाइएको छ । उहाँले गाई, बाच्छाबाच्छी, साँढे, गोरु, भैँसी, पाडापाडी र राँगोलाई अभियानअन्तर्गत लम्पी स्किन रोगविरुद्धको खोप लगाउने क्रम जारी रहेको भन्दै यो अवधिमा सबैभन्दा कम ५४९ वटा पशुलाई दोलखामा खोप लगाइएको बताउनुभयो ।
बागमती प्रदेशमा गाईभैँसीमा पछिल्लो समय महामारीको रुपमा फैलिएपछि मन्त्रालयले बिहीबारबाट साताव्यापी खोप अभियान सुरु गरेको हो । अभियानअन्तर्गत प्रदेशमा ५० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो ।

ताजा समाचार

Related Articles