समाज रुपान्तरणका लागि गीत सङ्गीत शक्तिशाली

लोकप्रिय

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समाज परिवर्तनमा गीत सङ्गीत शक्तिशाली हुने बताउनुभएको छ । शुक्रबार पोखरामा आयोजना भएको वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको साङ्गीतिक साँझ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले समाज परिवर्तन गर्न गीत सङ्गीत शक्तिशाली माध्यम भएको बताउनुभयो ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका मन्त्री गुरुङले प्रदेशको लोक संस्कृति र लोक साहित्यको वृद्धि विकास गर्न सुरुदेखि नै प्रदेश सरकारले रचनात्मक कार्यक्रम गर्दै आएको जनाउनुभयो ।

नेपाली जनता स्वतन्त्र रुपमा रम्न पाउने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएको मन्त्री गुरुङले बताउनुभयो । गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था नहुने उहाँको भनाई थियो ।

कार्यक्रममा पोखराका मेयर धनराज आचार्य लगायतको सहभागिता रहेको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरा सभागृहमा पुरुषोत्तम न्यौपानेको एकल साङ्गीतिक साँझ भएको हो ।

उक्त साँझमा पुरुषोत्तमका करिब १८ गीत प्रस्तुत भए भने साङ्गीतिक साँझमा पुरुषोत्तम न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

साङ्गीतिक साँझमा प्रवेश निःशुल्क रहेको प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले बताउनुभयो ।

लोक सङ्गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले विस २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लोकगीत, सङ्गीत र लोककलाको क्षेत्रमा क्रियाशील हुँदै आएको छ ।

ताजा समाचार

Related Articles