चिनियाँ निर्माण कम्पनीले भुक्तानी नदिएपछि व्यवसायी आन्दोलित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ३० गते ।
निर्माणाधीन निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माण कम्पनीले निर्माण सामाग्रीको भुक्तानी समयमा नदिएपनि नेपाली व्यवसायी आन्दोलित बनेका छन् ।
रड, फलामलगायतका सामार्गी आपूर्तिकर्ता व्यवसायीहरुले चिनियाँ कम्पनीमाथि कारबाहीसहित भुक्तानीको माग गरेका हुन् ।
वीरगञ्जस्थित नेपाल मेशिनरी एक्जिम, नेपाल फास्टट्याक इन्फ्रा कन्सर्न र नेपाल मेसिनरी इन्टरप्राइजेज प्रालिले शनिबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी निर्माण सामाग्रीको भुक्तानी नदिएको भन्दै चिनियाँ निर्माण कम्पनीलाई कारबाही गरी ब्याज हर्जानासहित भुक्तानी उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
नेपाल मेसिनरी एक्जिमसहितका कम्पनीहरूका सञ्चालक मुकेश सरावगीले शनिबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी काठमाडौँ– तराई द्रुतमार्ग आयोजनाको काम गर्दै आएको चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनसँग चिनियाँ कम्पनीबाट करिब सात करोड रुपियाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिनुभयो ।
उहाँले उपलब्ध गराएको निर्माण सामग्री भुक्तानी लामो समयसम्म पनि नदिएको र भुक्तानीका लागि अन्य निकायमा आग्रह गर्दा समेत सुनुवाई नभएकोले उक्त कम्पनीलाई कारबाहीसहित भुक्तानीको माग गरिएको जानकारी दिनुभयो ।
उहाँले चिनियाँ कम्पनीसँग १५ देखि ३० दिनमा भुक्तानी दिने लिखित सम्झौता गरी सामान उपलब्ध गराएपछि सामानको बिल भर्पाईसहित भुक्तानी माग्दा चिनियाँ कम्पनीले बारम्बार अनेक बहाना, कारण र समस्या देखाउँदै भुक्तानी नदिएकोले आफूहरु आफूहरु चिनियाँ कम्पनीको विरुद्धमा उत्रिएको बताउनुभयो । हाल १२ महिनाभन्दा लामो समयदेखि कुर्दा पनि विगतमा चिनियाँ कम्पनीले गरेको लिखित प्रतिबद्धता विपरीत भुक्तानी दिएको छैन उहाँले भन्नुभयो, बक्यौता रकम करिब सात करोड रुपियाँ ब्याज हर्जानासहित पाउनु पर्ने देखिएको ।
चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले भुक्तानीमा बनाएको बहानाबाजी र ढिलाईले उसको सम्पूर्ण क्रियाकलाप ठग्ने र धोखा दिने नियतले प्रेरित भएको प्रमाणित भएको उहाँको भनाई छ ।
सञ्चालक सरावगी अनुसार उक्त चिनियाँ कम्पनीबाट अन्य आपूर्तिकर्तालगायतका ठगिएका धेरै व्यक्तिहरूको गुनासो गर्दै आएका छन् ।
उहाँले चिनियाँ कम्पनीको बदनियतपूर्ण कार्यले नेपाल–चीन मित्रतालाई प्रभावित पार्दै दुर्घटना निम्तिन सक्ने भन्दै यस्ता निर्माण कम्पनीले नेपाल सरकारको सडक आयोजनाको नाममा नेपाली व्यापारीहरुलाई गलत आश्वासन दिएर र विश्वासमा पारेर करोडौँ ठगी गरी देश र व्यापारीलाई डुबाएर भाग्न सक्ने सम्भावना रहेको जिकिर गर्नुभयो ।
उहाँले पत्रकार सम्मेलनमा उक्त कम्पनीलाई कालोसूचीमा राखी यसको सम्पत्ति तथा धरौटी रकम र बैंक खाता यथाशीघ्र रोक्का गरी कानून बमोजिम नियन्त्रणमा लिएर सामाग्री आपूर्तिकर्तालाई राहत उपलब्ध गराउने प्रक्रिया थाल्नसमेत सरकारसँग अनुरोध गर्नुभएको छ ।
पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा भनिएको छ, नेपाली व्यापारीहरुको भुक्तानीमा ढिलाई भएर मारमा पर्दासमेत नेपाल सरकार, नेपाली सेनालगायत नियमन गर्ने निकायले उचित कार्बाही नगरी मौन रहनुले प्रश्न उठेको छ ।
गलत कार्य गर्दै आएका चिनियाँ कम्पनीका कर्मचारी तथा सहयोगी नेपाली कर्मचारीले गलत रुपमा काम गरिरहेकाले कडाभन्दा कडा कानूनी कारबाही गरी देश तथा विदेशमा काम गर्दा नेपाली व्यवसायीले ठगनिुपर्ने अवस्थाको अन्त्य गर्न र ठगीमा संलग्नलाई हतोत्साहित गरी कानुन विपरीत जाँदा कारबाही हुन्छ भन्ने अवस्थाको सिर्जना गर्नसमेत उहाँले माग गर्नुभएको छ ।
ऋणमा डुबी अन्यायमा परेर बैंक ब्याजले घर जग्गा लिलाम हुने अवस्थाबाट मुक्ति दिलाउन माग गर्दै उहाँले सडक आन्दोलनलगायतका कार्य गर्नुपर्ने अवस्था सिर्जना नगर्नसमेत चेतावनी दिनुभयो ।

ताजा समाचार

Related Articles