हेटौँडा अस्पतालको बोर्डबाट प्रतिष्ठानको नाम मेटेकोमा आपत्ति

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, चैत ३१ गते ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पतालमा राखेको बोर्डमा प्रतिष्ठानको नाम मेटाएको भन्दै
आपत्ति जनाएको छ ।


हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियानकर्ताहरुले अस्पतालमा राखेको बोर्डमा प्रतिष्ठानको नाम आइतबार दिउँसो मेटाएकोमा विरोध गर्दै उक्त कार्यमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानले माग गरेको छ ।
हेटौँडा अस्पताललाई मातहतमा नराखी स्वायत्त संस्थाका रुपमा विकास गर्नुपर्ने माग गर्दै आएका युवाले अस्पतालको बोर्डबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम मेटाएका छन् ।
हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत राख्न नहुने माग गर्दै आएका युवाले आइतबार अस्पतालमा रहेको साइन बोर्डबाट प्रतिष्ठानको नाम मेटाएका हुन् ।
हेटौँडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले अस्पताललाई प्रतिष्ठान मातहत राख्न नहुने माग गर्दै आएको छ ।
सरकारी अस्पताललाई प्रतिष्ठान मातहत राख्न नहुने भन्दै अभियानमा संलग्न युवाले अस्पतालको बोर्डबाट ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ नाममा रङ दलेर मेटाएका हुन् । अभियानमा संलग्न युवाले हेटौँडा अस्पतालको नाम मात्र उल्लेख भएको नयाँ बोर्डसमेत अस्पतालमा राखेका छन् ।
केही दिनअघि मात्र राखिएको हेटौँडा अस्पतालको उक्त बोर्डमा एकातर्फ निसान छाप र अर्कोतर्फ प्रतिष्ठानको लोगो समावेश गरिएपछि अभियानकर्मीहरु आन्दोलित बनेका हुन् ।
अस्पताल र प्रतिष्ठानको विवादको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा उक्त बोर्ड राखेपछि अभियानमा संलग्नहरुले विरोध जनाउँदै आएका थिए ।
अदालतमा विचाराधीन विषयमा र अदालतबाट फैसला अगावै अस्पतालले हेटौँडा अस्पताललाई प्रतिष्ठानसँग जोड्न नहुने अभियानकर्मीहरुको जिकिर छ ।
उता उक्त घटनाको विरोध गर्दै प्रतिष्ठानले घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
प्रतिष्ठानले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको साईन बोर्डमा तोडफोड, केरमेट गरी प्रचलित कानुनविपरीत अनधिकृत रूपमा अर्को बोर्ड टाँस्ने जस्ता अवाञ्छित र आपत्तिजनक क्रियाकलाप गरिएको घटनाप्रति यस प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिष्ठानका रजिष्ट्रार भीमसागर गुरागाई र निमित्त उपकुलपति प्रा. डा. दिनेश कुमार लम्सालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले अस्पतालमा उपचार गराइरहेका विरामीहरू, स्वास्थ्यकर्मीहरूमा त्रास, अन्योल र असुरक्षा उत्पन्न गरेको जनाउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, यस प्रकारको गैरकानुनी कार्यको प्रतिष्ठान घोर भत्र्सना गर्दछ ।
यस किसिमको गतिविधिले कसैलाई फाईदा नपुगी अस्पताललाई पुरानै अवस्थामा रेफर गर्ने अस्पतालको रुपमा विकास गर्न तल्लीन स्वार्थ समूहहरुलाई मात्र फाईदा पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

ताजा समाचार

Related Articles