संविधान संशोधन प्रक्रिया चाडै अघि बढ्छ

लोकप्रिय

विराटनगर, वैशाख ३ गते । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा वनेको गठबन्धन सरकारले संविधान संशोधन प्रक्रिया चाडै अघि बढाउने गरि काम गरिरहेको बताउनु भएको छ ।
गणेशमान सिंह फाउण्डेशनले विराटनगरमा आज आयोजना गरेको विचार गोष्ठीलाई संवोधन गर्नुहुँदै उहाँले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने प्रष्ट पार्दै संविधान संशोधन गरेर अहिले देखिएका सबै समस्या समाधान गर्न सरकार तत्पर रहेको उल्लेख गर्नुभयो । संविधान संशोधन गरेर तिन तहको सरकारलाई थप बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अहिले यो भएन वा त्यो भएन भन्ने हरुले लामो समय सत्ता सञ्चालन गर्दा पनि जनताको पक्षमा काम गर्न नसकेको बताउँदै उहाँले लोकतन्त्रको विकल्पमा कुनै पनि निरङ्कुश शासन जनतालाई स्वीकार्य नहुने प्रष्ट पार्नुभयो । गणेशमान सिंहको मूल्य मान्यताको राजनीतिलाई सबै राजनीतिक दलले आत्मासाथ गर्नुपर्नेमा बताउनु भयो । सत्ता केन्द्रित राजनीति भन्दा मूल्य मान्यताको राजनीति अहिले आवश्यक रहेको उहाँको भनाई थियो ।
सो अवसरमा बोल्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको विकल्प नचाहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा नेकपा एमाले मोरङ अध्यक्ष अजम्वर राई, नेकपा माओवादीको नेता एवं प्रदेश सांसद गणेश उप्रेतीले राजनीतिक स्थायित्वका लागि दलहरू एक जुट हुनुपर्नेमा जोड दिनुभयो । फाउन्डेसनका मोरङ अध्यक्ष फुलकुमार लालवानीको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक योद्धा शान्ता घिमिरे र इन्दुदेवी नौलखालाई सम्मान गरिएको थियो ।
यसैगरि आजै उपप्रधानमन्त्री सिंहले मोरङको क्षेत्र नम्बर पाँचमा आज तीन वटा पक्की पुलको उद्घाटन समेत गर्नुभयो ।

ताजा समाचार

Related Articles