लागूऔषधसहित हेटौँडालगायतका स्थानबाट १२ जना प्रहरीद्वारा पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ७ गते । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।
मोरङ, विराटनगर महानगरपालिका १५ बैंक रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका २ बस्ने ३१ वर्षीय सरन डाँगीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
     कैलाली, कैलारी गाउँपालिका १ सडकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४३० मिलिग्राम सहित सोही गाउँपालिका ८ दुधिया बस्ने २५ वर्षीय सन्जु कुमार चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका १ हनुमानथानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६० मिलिग्राम सहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका ३ सकायल बस्ने ३९ वर्षीय करन बहादुर देउवा र ३५ वर्षीय रोहित शाही रहेका छन् । प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका ११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम २७० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका ११ बस्ने २५ वर्षीय राम बहादुर बिष्टलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका(२६ सिसुवारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल तीन हजार ५४३ ट्याब्लेट र अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब तीन सय ग्राम सहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका २६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशाल सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा शान्तीलाई एक हजार १८० ट्याब्लेट ट्रामाडोल र विशाललाई दुई हजार ३६३ ट्याब्लेट ट्रामाडोल र करिब तीन सय ग्राम गाँजा जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो ।
        मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ पिपलवोटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब तीन ग्राम सहित सोही उपमहानगरपालिका ४ हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले ना।६३ प ४८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
        सुर्खेत, वीरेन्द्रनगर नगरपालिका १४ कटुकास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९० मिलिग्राम सहित बाँके नेपालगञ्ज उपमहानगरपालिका १४ बस्ने २१ वर्षीय अनिश नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गोठीकाँडाबाट खटिएको प्रहरीले लु।६७ प ६५५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
संखुवासभा, धर्मदेवी नगरपालिका ४ तिरतिरे बस्ने २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका ६ पुलुङ बस्ने ३८ वर्षीय देबेन्द्र थापालाई अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १२ ग्राम ३९० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामबहादुरको घरमा लागूऔषध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीले राम बहादुरको घर नजिकै गोठको मलखाडीमा लुकाई राखेको उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

Related Articles