खासकुरा संवाददाता
हेटौँडा, वैशाख १९ गते ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा पछिल्लो पटक तोकेको मिति यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेकोमा नेपाल शिक्षक महासङ्घ आन्दोलनका कारण परीक्षाको समय तालिका वैशाख २१ गतेबाट हुने गरी तय गरेको थियो ।
बोर्डले एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षाका सन्दर्भमा बोर्डको लोगो प्रयोग गरी अनधिकृत रुपमा विभिन्न सामाजिक सञ्जालमा प्रचार गरिएकोमा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह आग्रह गरेको छ । साथै बोर्डले तोकिएको मितिमा नै परीक्षा हुने स्पष्ट पारेको छ ।
पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको र आधिकारिक सूचना वेबसाइटमार्फत सार्वजनिक हुने समेत विज्ञप्तिमा भनेको छ ।
बोर्डले परीक्षाका बाँकी सबै काम पूरा गरेर तोकिएको मितिमा मर्यादित रुपमा सम्पन्न गर्न गराउन सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी एवं सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालालाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
