हेटौँडा, जेठ ८ गते ।
समाजमा पछिल्लो समयमा नकारात्मकता बढिरहेको सन्दर्भमा सामाजिक बेथितिविरुद्ध र समाजलाई सकारात्मक सोचका साथ अघि बढाउन हेटौँडा उपमहानगरका विभिन्न वडामा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।
राष्ट्रिय कलाकारहरुको टोलीले वैदेशिक रोजगारीले समाजमा पार्ने नकारात्मक प्रभाव, लागू औषध दुव्र्यसनको प्रभाव र इन्टरनेटको माध्यमबाट हुने दुव्र्यवहारको बारेमा सडक नाटक मार्फत सचेत गर्न नाटक प्रदर्शनी गरिएको हेटौँडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

बिहीबार हेटौँडा–१३ को महेन्द्र र १४ को जनज्याोति माध्यमिक विद्यालयमा नाटक प्रस्तुत गरिएको थियो । हेटौँडा–१६ को जनप्रिय र १८ को ज्योति माध्यमिक विद्यालयमा नाटक प्रदर्शन गरिएको थियो ।

हेटौँडा– १४ को जनज्योति मावि भएको सडक नाटकमा नगर प्रमुख मीनाकुमारी लामाले समाजमा भएको बेतिथिहरु अन्त्य गर्न सडक नाटकलाई माध्यम बनाइएको बताउनुभयो ।

उहाँले भौतिक विकाससँगै उपमहानगर सामाजिक सद्भाव र सचेतनामा लागेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा उपमहनगरपालिकाका उपप्रमुख राजेश बानियाँ, १४ नम्बरका वडाध्यक्ष दीपक खड्का, उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।

सडक नाटकमा विष्णु सापकोटा (लाहुरे बा), अस्मिता बस्नेत (थुम्की), शिवहरि नेपाल (ठेकेदार), गुणाखर अधिकारी (पुछारे), युनिसा बानियाँ (चुचु) र कुवेर मोक्तान (बाख्रे) को अभिनय रहेको छ ।
