धनुषा, जेठ ९ गते ।
गृहमन्त्री रमेश लेखकले देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन सबै सुरक्षा निकायहरूले विशेष ध्यान दिई कार्यसम्पदान गर्नुपर्ने बताउनुभइको छ ।

नेपाल सरकारको गृह मन्त्रालय र मधेश प्रदेशको गृह, संचार तथा कानून मन्त्रालयले शुक्रबार धनुषमा आयोजना गरेको मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ मा उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री लेखकले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण गर्न सबै सरोकारवाला निकायहरू सक्रिय भएर अगाडि बढ्नुपर्ने बताउँदै सीमा क्षेत्रमा हुने चोरी निकासी पैठारी एवम् सीमावर्ती अपराधहरू नियन्त्रणमा थप सचेत भई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद् व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्री राज कुमार लेखी, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारका कार्यकारी प्रमुख ईन्जिनियर दिनेश प्रसाद भट्टले गोष्ठीको औचित्यबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक दीपक थापाले खुला सीमाना भएको यस प्रदेशमा सीमा अपराध, तस्करी, लागूऔषध दुर्व्यसन तथा ओसारपसार, सवारी दुर्घटना र साईबर अपराध मुख्य चुनौतिको रूपमा रहेको उल्लेख गर्दै उपलब्ध स्रोत साधन, जनशक्ति तथा प्रविधिको अधिकतम प्रयोग गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न, अपराध नियन्त्रण एवम् अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न आवश्यक रणनीति तयार गरी सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय एवम् सहकार्य गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी नागरिक केन्द्रित सेवा प्रवाहमा थप सक्रिय भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।

सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मधेश प्रदेशका गृह, संचार तथा कानून मन्त्रालयका सचिव विमल प्रसाद बराललगायतले मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहले जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

गोष्ठीमा मधेश प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गृह सचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा भएको गोष्ठीमा मधेश प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।



