रामेछाप, जेठ २१ गते । रामेछाप जिल्लाका अन्र्तरजातिय बिबाह गर्ने १४ जोडीलाई सम्मान गरिएको छ । १९ औं जातीय छुवाछुत तथा भेदभाव उन्मुलन दिवशका अवसरका बुधबार जिल्ला सदमुकाम मन्थलीमा आयोजित एक कार्यक्रममा अन्र्तरजातिय बिबाह गर्ने जोडिलाई सम्मान गरिएको हो ।

दलित र गैर दलित बिचको बिबाहका कारण समाजमा बिभिन्न समस्या व्यहोर्दै आएका दम्पत्तिलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको आयोजक संस्था राष्ट्रिय दलित पत्रकार संघले जनाएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ रामेछापका अध्यक्ष नवराज विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका नेताहरुले छुवाछुतले समाजमा पारेको असरका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो । सम्मान कार्यक्रम सकिए लगत्तै सरोकारवालाहरु बिच साझा बहस कार्यक्रम समेत गरिएको थियो ।