खासकुरा संवाददाता
हेटौँडा, जेठ २५ गते । काभ्रेको भुम्लु गाउँपालिका ८ स्थित दोलालघाटमा आइतबार सशस्त्र प्रहरी बल नेपाल, नं १५ गण काभ्रे र सशस्त्र प्रहरी बल नेपाल, नं १६ गण सिन्धुपाल्चोकको आयोजनामा नदीजन्य कृत्रिम घटना अभ्यास सम्पन्नभएको छ ।

सो अवसर आयोजित कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले ‘विपदमा पूर्वतयारी, आवश्यक स्रोत तथा साधन तयारीमा अवस्थामा नहुँदा गत वर्षको असोजमा आएको मनसुनजन्य घटनामा बागमतीका काभ्रे र सिन्धुपाल्चोकमा ठूलो संख्यामा जनधन क्षति भएको बताउनुभयो ।

उहाँले गत वर्षको विपदको क्षतिबाट सिकेर हामीले विपदजन्य घटना न्यूनीकरण गर्न, कम क्षति तथा छिटो उद्धारको लागि आवश्यक पूर्व तयारी गर्नु पर्नेमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी बल, नेपाल नं ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोख्रेलले विपद प्रतिकार्यका लागि आवश्यक स्रोत र साधनको व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ र नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले विपद उद्धार तथा प्रतिकार्यका लागि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले विपदबाट हुने क्षति न्यूनीकरण गर्न सबैभन्दा महत्वपूर्ण पूर्वतयारी, सूचना र सतकर्ता आवश्यक रहेको बताउनुभयो ।




