खासकुरा संवाददाता
हेटौँडा, असार ८ गते ।
कुटपिट गरी हत्यामा सलग्न मकवानपुरका दुईसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा जिल्ला निजगढ नगरपालिका वडा नं. ८ घर भएका कृष्ण लामाको हत्या अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

३२ वर्षीय कृष्ण लामालाई मकवानपुर घर भई काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने विकास लामा लोको बहिनीको जन्मदिन मनाउन भन्दै यही असार ६ गते राति टुसालस्थित विकाश लामा लोको घरकोठामा लगेर कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपीलराज बोहाराद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर घर भई बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ टुसाल बस्ने विकास लामा, बारा निजगढ नगरपालिका वडा नम्बर ७ घर भएका वर्ष २९ को सुगन्द लामा, निजगढ नगरपालिका वडा नम्बर ५ घर भएका वर्ष १८ को सौगात क्षेत्री र मकवानपुर बकैया गाँउपालिका वडा नं. २ घर भएका वर्ष २३ को निसान जिम्भा रहेका छन् ।

प्रहरीका अनुसार गते उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भईरहेको छ ।




