वडाध्यक्ष सिग्देलमाथि कुटपिट

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार १९ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि कुटपिट भएको छ । ढल निर्माणको कार्य निरीक्षण गर्न जाने क्रममा बिहीबार वडाध्यक्ष सिग्देलमाथि निर्माण व्यवसायी मञ्जु लामाबाट हातपातको घटनाभएको हो ।

निर्माण स्थलको माटो हेटौँडा ४ स्थित श्रमिक मावि परिसरमा भएको खाडल पुर्न प्रयोगका लागि आग्रह गर्दा ती निर्माण व्यवसायी महिलाले अन्यत्र लैजान्छु भन्दै गालीगलोज गरी आफूमाथि कुटपिट गरिएको बिहीबार उपमहानगरपालिका हलमा आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।

निर्माणस्थलबाट निस्केको माटो सार्वजनिक स्थानमा लैजानुपर्छ भन्ने विषयमा कुरा गर्दै गर्दा मञ्जु लामाले भिडियो बनाइरहेको र बारम्बार भिडियो नबनाउन आग्रह गर्दा अटेर गरेपछि मोबाइल हटाउने क्रममा मोबाइल भुइँमा झरेपछि आफूमाथि कुटपिट गरिएको वडाध्यक्ष सिग्देलले बताउनुभयो ।
‘जनप्रतिनिधिलाई जसले जे गर्दा पनि हुन्छ भन्ने होइन । हामीलाई काम गर्ने क्रममा बारम्बार सांघातिक हमला भइरहेको छ । लामाले माटो बेच्न खोजेकी थिइन् । मैले नदिएपछि उक्त घटना भयो,’ वडाध्यक्ष सिग्देलले भन्नुभयो ।

नगरप्रमुख मीनाकुमारी लामाले जनप्रतिनिधिलाई बारम्बार आक्रमण भयो, यो सह्य छैन भन्दै सबै जनप्रतिनिधिले शुक्रबार काम रोक्ने र कुनै सेवा नदिने बताउनुभयो ।
यसअघि यही असार ४ गते १ नम्बर वडाध्यक्ष सविन न्यौपाने माथि मोबिल छ्यापिनुको साथै हातपातसमेत भएको थियो ।

 

ताजा समाचार

Related Articles