बागमती प्रदेशको १० जिल्लाका ६४ स्थानमा सिसिटिभी उपकरण जडान

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ३१ गते । बागमती प्रदेशको शान्ति सुरक्षालाई सुदृढ गर्न भन्दै प्रदेशको १० जिल्लाका ६४ स्थानमा सिसिटिभी उपकरण जडान गरिएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा विनियोजित बजेटबाट विभिन्न जिल्लाहरूमा जडान गरिएको सिसिटिभी उपकरणको बागमती प्रदेश प्रहरी काार्यलय हेटौँडामा आयोजित कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा मंगलबार शुभारम्भ गरिएको छ ।
कार्यक्रममा मन्त्री लामिछानेले प्रदेशको शान्ति सुरक्षा सबल बनाउन सहयोग पुग्ने भन्दै प्रहरी संगठनलाई सुविधा सम्पन्न बनाउन आगामी आर्थिक वर्ष २०८२/०८३ मा बजेट विनियोजन गरिएको बताउनुभयो ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले अपराध नियन्त्रणमा प्रविधि प्रयोग आवश्यक भएको बताउनुभयो । प्रदेश अन्तर्गतका १० वटै जिल्लाका संवेदनशील स्थान, अन्तर प्रदेश सिमानाका, राजमार्गहरु समेतका विभिन्न ६४ वटा स्थानहरूमा १२० वटा सिसी क्यामेरा जडान गरिएको छ ।

उक्त कार्यक्रममा नेपाली सेनाका उप रथी हरेन्द्र पाठक, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्ण बहादुर शाही, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सशस्त्र प्रहरी नायव महानिरीक्षक अंजनी कुमार पोखरेल, राष्ट्रिय अनुसंधान विभागका अनुसन्धान निर्देशक संजय कुमार यादव, प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापालगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles