हेटौँडा, असार ३२ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सभाबाट पारित भएको विनियोजन विधेयक २०८२ सहित दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
बागमती प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आगामी आर्थिक वर्ष २०८२÷०८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
बागमती प्रदेशसभाको यही असार २३ गते बसेको बैठकबाट उक्त दुवै विधेयक पारित भई प्रमाणीकरणका लागि सिफारिश भई आएकोमा प्रमुख देवकोटाले प्रमाणीकरण गर्नुभएको हो ।
विनियोजन विधेयक २०८२ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै प्रदेश राजपत्रमा प्रकाशित भएपछि प्रदेश सरकारलाई आगामी आवको बजेट आगामी साउन १ गतेबाट खर्च गर्ने बाटो खुल्ने छ ।
प्रदेश सरकारले यही असार १ गते आगामी आवको कार्यक्रम र योजनाहरु कार्यान्वयन गर्न आगामी आवको ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको बजेट ल्याएको थियो ।
चालु आव २०८१/०८२ को बजेट ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपियाँ बराबरको रहेको छ ।
