काठमाडौँमा मोनोरेल तथा केबलकार सञ्चालन प्रक्रिया अगाडि बढाइयो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन ५ गते । रोपवे एण्ड केबलकार प्रालि ललितपुरले काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका र दक्षिणकाली नगरपालिका जोड्ने गरी मोनोरेल तथा केबलकार सञ्चालन प्रक्रिया अगाडि बढाएको छ ।
कम्पनीले एक हजार ८२० मिटर लम्बाइको केबलकार तथा ३.२७ किमि लम्बाइको मोनोरेल सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले मोनोरेल तथा केबल कार निर्माण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीको क्षेत्र निर्धारणका लागि सार्वजनिक सूचना जारी गर्दै सुझाव माग गरेको छ ।
कम्पनीका अनुसार केबलकारको तल्लो स्टेशन चन्द्रागिरि नगरपालिका–९ मा र माथिल्लो स्टेशन दक्षिणकाली नगरपालिका वडा नं. ९ मा रहनेछ ।
यसैगरी, मोनोरेलको तल्लो स्टेशन चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा र माथिल्लो स्टेशन दक्षिणकाली नगरपालिका वडा नं. ९ मा हुने गरी प्रस्ताव गरिएको छ । मोनोरेलको बीचको स्टेशन कीर्तिपुर नगरपालिका वडा नं. ४ चम्पादेवीमा रहने जनाइएको छ । आयोजना अन्तर्गत सांस्कृति गाउँ, एक्टिभिटी जोन, निजी भिल्ला, पिकनिक क्षेत्र, मन्दिर क्षेत्र, होटल क्षेत्रलगायतका संरचनाहरु बन्ने गरी प्रस्ताव गरिएको छ ।

कम्पनीले उक्त आयोजनाबाट चन्द्रागिरि नगरपालिका वडा नं. ९, कीर्तिपुर नगरपालिका वडा नं. ४, दक्षिणकाली नगरपालिका वडा नं. ९ र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ मा प्रभाव पार्ने जनाएको छ ।
सो आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा पर्ने प्रभावका बारेमा सुझाव दिन कम्पनीले भनेको छ ।

ताजा समाचार

Related Articles