खासकुरा संवाददाता
हेटौँडा, साउन १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गर्नुभएको छ ।
मुख्यमन्त्री लामाका तर्फबाट प्रमुख स्वकीय छत्रबहादुर लामाले सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेमार्फत प्रदेश प्रमुख समक्ष राजीनामा पेस गर्नुभएको हो ।
मुख्यमन्त्री लामाले आइतबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को (क) बमोजिम सउन १८ गतेबाट लागू हुने गरी राजीनामा दिनुभएको थियो ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौँमा उपचारको क्रममा रहनुभएकोले आइतबार मुख्यमन्त्री लामा राजीनामा पत्र बुझाउनबाट रोकिनुभएको थियो ।
आकस्मिक रुपमा बिरामी परेपछि प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीको सिफारिशमा नियुक्त गरेका तीन जना मन्त्रीहरुको सपथ ग्रहण नगराइ गत बिहीबार काठमाडौँ लाग्नुभएको थियो । आइतबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारपछि डिस्चार्ज हुनुभएका प्रदेश प्रमुख देवकोटा सोमबार हेटौँडामा आउनुभएको हो । उहाँ बिहीबार अस्पताल भर्ना हुनु पुग्नुभएको थियो ।
तत्कालीन मुख्यमन्त्री लामाले साउन १४ गते गर्नुभएको सिफारिश अनुसार मन्त्री नियुक्ति गर्नुभएका प्रदेश प्रमुख देवकोटाले सो दिन सपथग्रहण रोक्नुभएको थियो ।
साउन १५ गतेका दिउँसो १ बजेका लागि सपथ ग्रहण ताक्नुभएको प्रदेश प्रमुख देवकोटा बिरामी परेको भन्दै बिहानै काठमाडौँ लागेपछि सपथ ग्रहण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको थियो । प्रदेश प्रमुख देवकोटाले सपथग्रहण रोकेको भन्दै लामा पक्षधर प्रदेश सभा सदस्यहरुले सन्तुष्टिसँगै प्रदेश प्रमुखको कार्यप्रति आपत्ति जनाएका थिए ।




