हेटौँडा, साउन ३१ गते। पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्ड दिउँसोबाट सञ्चालन भएको छ। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ९ लामिडाँडा स्थित सडकखण्डमा पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो। सडक शनिबार दिउँसोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।

यस्तै शनिबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित ज्यामिरेमा पहिरो खसेर सिस्नेरी– दक्षिणकाली – फर्पिङ सडक अवरुद्धबनेको छ ।
सडक खण्डमा माटो, ढुङगासहितको सुक्खा पहिरो खसेर उक्त सडकमा सवारी आवागमनमा अवरोध भएको र पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भईरहेको प्रहरीको भनाई छ ।
यसैगरी महालक्ष्मी–चखेल–मातातीर्थ सडक पहिरोका कारण अवस्द्ध भएकोमा पहिरो पन्छाएर सुचारु गरिएको छ ।
ईन्द्रसरोवर गाउँपालिका ५ स्थित महालक्ष्मी नजिकै पहिरो आएर सडक अवरुद्ध बनेकोमा पहिरो पन्छाएर मकवानपुर र काठमाडौँ जोड्ने महालक्ष्मी–चखेल–मातातीर्थ सडक सुचारु गरिएको वडा नं. ५ का वडाध्यक्ष दुतराज तितुङले बताउनुभयो ।




