हेटौँडा, असोज ६ गते । जेनजी प्रदर्शनका क्रममा कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित कारागार फर्केका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित कारागारलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये २५९ जना कैदीबन्दी कारागार फर्केका छन् । भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म १९८ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलका अनुसार भागेकामध्ये ६८ जना कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन्भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन् ।

फरार कैदीबन्दीहरूको खोजीका क्रममा सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट कैदीबन्दीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताउनुभयो । कारागारबाट भागेका २ सय ४२ जना कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।




