सङ्घीयता मुलुकका लागि आवश्यक

लोकप्रिय

जनकपुरधाम, असोज ७ गते । मधेश प्रदेश सभाको छैठाैं अधिवेशनको तेस्रो बैठक आजदेखि शुरु भएको छ । सङ्घीयताप्रति प्रश्न आइरहेको बेलामा मधेश प्रदेश सभाको जलेको भवनमा प्रदेश सभाको बैठक बसेको हो । आज दिउँसो १ बजेका लागि बोलाइए पनि बैठक २ः १५ बजे शुरु भएको थिए । मधेश प्रदेश सभामा रहेका अधिकांश दलका प्रदेश सभाका सदस्यहरुले नेपालमा जनताको लामो सङ्घर्ष तथा बलिदानबाट प्राप्त भएको सङ्घीयतालाई कसैले समाप्त गर्न नसक्ने बताउनुभयो ।

बैठकमा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले लोकतन्त्रको सुन्दर पक्षको रुपमा रहेको सङ्घीयताको विषयमा भइरहेको नकारात्मक बहस ठिक नभएको बताउँदै सङ्घीयता मुलुकका लागि आवश्यक भएको बताउनुभयो । नेकपा एमालेका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले सङ्घीयता कसैले उपहारमा नदिएको बताउँदै नेपाली जनताले गरेको ठूलो बलिदान तथा त्यागबाट आएको भएको बताउनुभयो ।

नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले सङ्घीयता मधेशी, आदिवासी जनजाति तथा पिछडिएको वर्गका लागि आवश्यक भएको बताउँदै यसमा भएको कमी कमजोरीलाई सुधार गरेर अगाडी हिँड्न सक्ने बताउनुभयो । जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले सङ्घीयता कसैले दान वा उपहार दिएर नआएको बताउँदै सङ्घीयताका लागि नेपालमा लामो सङ्घर्ष र बलिदान भएकाले यसलाई कसैले समाप्त गर्न नसक्ने बताउनुभयो ।

जनमत पार्टीका संसदीय दलका नेता महेशलाल यादवले नेपालमा सङ्घीयता ठूलो सङ्घर्षबाट प्राप्त भएकाले यसलाई कसैले समाप्त गर्न नसक्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका प्रदेश सभाका सदस्य जवाहर कुशवाहाले सङ्घीयताको लागि पार्टीले लामो सङ्घर्ष गरेकाले कसैले चाहेर समाप्त हुन नसक्ने बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जैनुल राईनले सङ्घीयताको पक्षमा सिङ्गो मधेश प्रदेश एक भएको बताउँदै यसको सञ्चालनमा भएको कमी कमजोरीलाई सुधार गरेर समृद्ध सङ्घीयताको लागि बढ्नुको विकल्प नभएको बताउनुभयो । नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिष पट्टेलले सङ्घीयताको रक्षाका लागि मधेश प्रदेश एक रहेको सन्देश दिनका लागि जलेको भवनमा मधेश प्रदेश सभाको बैठक भएको बताउनुभयो । बैठकमा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले जेनजी पुस्ताको आन्दोलनको क्रममा शहादत हुनुभएका शहिदहरूको सम्मानमा शोक सहितको विशेष प्रस्ताव पारित गरेको थियो ।

ताजा समाचार

Related Articles