वीरगञ्ज, असोज २६ गते । सरकारले वीरगन्जमा डेढ महिनाअघि देखिएको हैजा र झाडापखालाको महामारी रोकथामका लागि पर्सा र बारा जिल्लामा आज आइतबार देखी हैजा विरुद्धको खोप अभियान सुरु भएको छ । वीरगन्ज महानगरसहित पर्साका केही पालिकामा गत भदौ ६ गतेदेखि हैजा र झाडापखालाको महामारी फैलिएकोमा हाल सम्म पनि अस्पतालमा झाडापखालाका बिरामी उपचाररत छन् ।

वीरगन्जसहित पर्सामा डेढ महिना पहिले फैलिएको हैजाको प्रकोप पूर्ण रुपमा नियन्त्रणमा अझै आइनसकेको कारणले सरकारले पर्सा र छिमेकी जिल्ला बारामा एकैसाथ हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । दुवै जिल्लाका लागि गरी सरकारले विदेशबाट १० लाख १८ हजार १ सय डोज (खोप) नेपालमा आयात गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप खाएर अभियानको औपचारिक शुभारम्भ गर्नुभएको छ । उहाँले खोप खान योग्य सबै उमेर समूहका व्यक्तिलाई खोप सेवन गरी आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गर्नुभयो ।

गत भदौ ६ गतेदेखि वीरगञ्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको हो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्य कार्यालय पर्साका अनुसार, असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुने अभियानमा पर्सा जिल्लाका ६ लाख ५४ हजार जनालाई इयूभिकोल–एस खोप लगाइने छ । खोप १ वर्षमाथिका सबै व्यक्तिलाई दिइने छ ।
