काठमाडौं, असोज २६ गते । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ । गृह मन्त्रालय (मन्त्रीस्तर) को मिति २०८२/०६/२६ को निर्णय अनुसार फरार कैदीबन्दीहरूलाई शीघ्र नियन्त्रणमा लिन यो कदम चालिएको हो । आन्दोलनपछि हालसम्म ९,००८ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन् ।

मन्त्रालयले फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ । विभागले फरार कैदीबन्दीहरूको नामावलीसहितको विवरण निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन, भूमि व्यवस्थापन, यातायात व्यवस्थापन, राहदानी, वैदेशिक रोजगार, श्रम र नापी विभाग लगायतका सेवाग्राहीको भीड हुने निकायहरू तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने निर्णय गरेको छ ।

फरार रहेका कैदीबन्दीको विवरण कारागार व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयहरूको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ । सेवाग्राही निकायहरूले फरार बन्दी सेवा लिन आएमा तत्काल कार्यदल र सुरक्षा निकायलाई खबर गरी पक्राउ गर्न सहयोग गर्नुपर्नेछ ।